एसिड प्रहार गर्ने प्रहरीलाई निलम्बन गरी कारबाही, गृहमन्त्रीले भेटे घाइते

Posted on: 23 Apr, 2018

वैशाख १०, चितवन (रासस) | गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 

आज अपराह्न भरतपुर अस्पताल पुगेर उहाँले सो जानकारी लिनुभएको हो । 

ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले सोमबार भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार गरी सोही ठाउँमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका थिए ।

खनियाँलाई निलम्बन गरी कारबाही थालिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । 

गृहमन्त्री थापासँग पीडित श्रेष्ठले विगतदेखि नै एसिड हान्ने प्रयास गरेको भन्दै कडा कारबाहीको माग गर्नुभएको थियो । 

अस्पताल पुगेर महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री थापाले दोषीलाई कडा कारबाही गर्र्न मातहतका निकायलाई निर्देशन दिनुभयो । 

“यो दुःखद घटना घटेको हो,” उहाँले भन्नुभयो, “यस घटनाले मन्त्रालयलाई नै स्तब्ध बनाएको छ ।” 

गृहमन्त्री थापाले राष्ट्र सेवकबाटै महिलाहरु असुरक्षित हुनु दुःखद भएको भन्दै प्रहरीको आचरण सुधारका लागि सरकारले ठोस कदम चाल्ने बताउनुभयो । 

सो अवसरमा चितवनका प्रहरी उपरीक्षक दीपक थापाले घटना तथा खनियाँमाथि गरिएको कानूनी कारबाहीका बारेमा जानकारी गराउँदै खनियाँलाई निलम्बन गरी छ दिनको म्याद थपेर मुद्दा अगाडि बढाइएको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!