चितवन बार अध्यक्षमा पाठक निर्वाचित

Posted on: 11 Aug, 2018

साउन २६, रत्ननगर | चितवन जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा प्रगतिशील समूहका कमलराज पाठक निर्वाचित हुनुभएको छ । 

प्रजातान्त्रिक कानून व्यवसायीको नेतृत्व गर्दै उम्मेद्वारी दिनुभएका निलकण्ठ अधिकारीलाई नौँ मतले पछि पार्दै पाठक अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक चुडामणि सापकोटाले जानकारी दिनुभयो । 

गए राति सम्पन्न निर्वाचनमा पाठकले ९३ मत प्राप्त गर्नुभएको थियो भने अधिकारीले ८४ मत ल्याउनुभयो । दुई वर्षे कार्यकालका लागि पाठकको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन् । 

सापकोटाका अनुसार उपाध्यक्षमा हिरादत्त तिवारीलाई पछि पार्दै प्रगतिशील समूहकै हरिबहादुर मैनाली विजयी हुनुभयो । सचिवमा प्रजातान्त्रिक समूहका धर्म वाग्ले, कोषाध्यक्षमा प्रगतिशील समूहका सूर्यबहादुर बोहरा र सहसचिवमा प्रजातान्त्रिक समूहकी गोमा न्यौपाने निर्वाचित हुनुभयो । 

सचिव र सहसचिव दुई पदाधिकारीबाहेक कार्यसमितिमा सबै प्रगतिशील समूहका उम्मेद्वार विजयी भएका छन् । केन्द्रीय पार्षद् आठ जनामा पाँच प्रगतिशील समूहका र तीन प्रजातान्त्रिक समूहका उम्मेदवार विजयी भए । 

सदस्यमा प्रगतिशील समूहका अजय तामाङ, नारायण गिरी, विकास गुरुङ, तुलसीराम पाण्डे, शिवराम महतो, टेकनाथ अधिकारी, अर्जुनबाबु तिवारी र महिला सदस्यमा भवानी लोहनी निर्वाचित हुनुभयो । 

केन्द्रीय पार्षद्मा प्रगतिशील समूहका जनकराज पौडेल, बद्रीनाथ पण्डित, कृष्णप्रसाद पन्त, भलोनाथ नेपाल, पदमप्रसाद दाहाल तथा प्रजातान्त्रिक समूहका श्रीराम दवाडी, मुन्ना विक्रम खाती, र सीताराम अधिकारी निर्वाचित हुनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!