चितवन प्रहरीद्वारा लागुऔषधसहित पाँच पक्राउ

Posted on: 11 Aug, 2018

साउन २६, रत्ननगर | चितवन प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । 

भरतपुर महानगरपालिका–३ न्यूरोडबाट पक्राउ परेका उनीहरुविरुद्ध आज मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा नवलपरासी जिल्ला गैँडाकोट नगरपालिका– १ का २४ वर्षीय किरण जिसी, चितवनको भरतपुर महानगरपालिका वडा नं ३ का २४ वर्षीय बुद्धि गुरुङ, भरतपुर महानगरपालिका– ७ का २१ वर्षीय लालकृष्ण ढकाल, भरतपुर महानगरपालिका वडा नं २ का २६ वर्षीय सलीम मियाँ र चितवन खैरहनी नगरपालिका वडा नं १ ज्यामिरेका १९ वर्षीय अमृत आचार्य छन् । उनीहरुका साथबाट प्रहरीले डाइजेपाम, ११५ एम्पुल, व्युप्रिनर्फिन ११५ एम्पुल, फेनारगन ११५ एम्पुल, नाइट्राजेपाम एक हजार ५४५ ट्याबलेट, स्पास्मो प्रोक्सिभन, ४८ क्याप्सुल, फेन्सिडिल बरामद गरिएको ढकालले जानकारी दिनुभयो । 

चितवनको नारायणगढस्थित न्यूरोडमा साउन २२ गते ना २४ प ११०० नंको मोटरसाइकल जाँच गर्दा लागुऔषधसहित किरण जिसी र बुद्धि गुरुङलाई पक्राउ गरिएको र उनीहरुको बयानका आधारमा लालकृष्ण ढकाल, सलीम मियाँ र अमृत आचार्यलाई आज नारायणगढबाट पक्राउ गरिएको हो । उनीहरु लागुऔषधको ओसारपसार, सञ्चय, बिक्री वितरण तथा सेवनमा समेत संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । 

प्रहरीले गैँडाकोटमा रहेका किरण जिसीको घरमा लुकाइ राखेएको अवस्थामा उक्त परिमाणको लागुऔषध बरामद गरिएको प्रहरीद्वारा आज जारी गरिएको सूचनामा उल्लेख छ । पक्राउ परेकालाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!