चितवनमा चेपाङलाई न्यानो कपडा वितरण

Posted on: 20 Jan, 2019

माघ ६, मुग्लिन | इच्छाकामनाका चेपाङहरुलाई शनिबार न्यानो कपडा(सिलिपिङ ब्याग) वितरण गरिएको छ । नेपाल चेपाङ सङ्घ चितवनको समन्वयमा नेपाल आदिवासी जनजाति महासङ्घले चितवनको विकटमा रहेको इच्छाकामना गाउँपालिका–२ काउले मायाटारका ३०० चेपाङ परिवारलाई सिलिपिङ ब्याग वितरण गरिएको हो । 

नेपाल आदिवासी महासङ्घका उपाध्यक्ष सोनाम लामाले भौगोलिक विकटताका कारण सहयोगीहरु नआउने भएकाले यहाँका गरीब चेपाङलाई सहयोगका लागि छनोट गरिएको बताउनुभयो । 

कठ्याङ्ग्रिदो जाडोमा न्यानो सिलिपिङ ब्याग सहयोग गरेकामा वडाध्यक्ष पञ्चबहादुर चेपाङले सहयोगीलाई धन्यावाद दिनुभयो । यहाँका प्राय चेपाङ दिनमा घाम र रातमा आगोको भर पर्नुपर्ने अवस्थामा रहेको स्थानीयवासी शिक्षक पदम चेपाङले बताउनुभयो । जाडोमा न्यानो कपडा(सिलिपिङ ब्याग) पाएपछि खुशी व्यक्त गर्दै सहयोगी संस्थालाई चेपाङ समुदायले धन्यावाद दिएका छन् । 

ब्याग वितरण कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष सोनाम लामा, नेपाल चेपाङ सङ्घ चितवनका अध्यक्ष लक्ष्मण चेपाङ, नेपाल जिरेल सङ्घका अध्यक्ष युवराज जिरेल, र जनप्रतिनिधिको उपस्थिति रहेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!