इच्छाकामना मन्दिर पुनःनिर्माण गरिँदै

Posted on: 17 Mar, 2019

चैत ३, मुग्लिन (रासस) | चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मा रहेको पवित्र धार्मिकस्थल इच्छाकामना माई मन्दिरको पुनःनिर्माण गरिने भएको छ । 

अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम शुरु गरिएको गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । 

मन्दिर पुनःनिर्माणका लागि प्रदेश सरकारबाट रु ५० लाख मन्दिर पुनःनिर्माणका लागि बजेट विनियोजन गरिएको छ । यसअघि गाउँपालिकाले मन्दिरसम्म जाने बाटोमा सिंढी बनाइसकेको छ भने मन्दिर क्षेत्रभित्र रहेको जमीन र वन क्षेत्रलाई पनि घेराबन्दी (कम्पाउण्ड) गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । 

यसैबीच मन्दिरसम्म जाने दर्शनार्थीको सहजताका लागि मुग्लिनबाट पनि सडक सञ्जाल जोड्ने अध्यक्ष गुरुङले बताउनुभयो । सडक विस्तारको काम भइरहेको उहाँको भनाइ छ । 

गोरखाको शहीद लखनगाउँपालिका–२ मा रहेको मनकामनामा माताको मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छ्याएको पूरा हुने धार्मिक विश्वास रहेको छ । 


मनकामना माईको सात दिदीबहिनी थिए । तीमध्ये एक बहिनी रहेको किंवदन्ती रहेको मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताउनुभयो । पुजारी गुरुङका अनुसार कहिलेबाट यहाँ इच्छाकामना देवीको पूजा गर्न थालिएको हो यकिन नभए पनि धेरै वर्षअघि उनका पुर्खाले गाई बाख्रा हराउन थालेपछि गोठालाले भेटेको मूर्तिमा पूजा गर्न शुरु गरेका थिए । त्यसपछि गाई बाख्रा हराउन छाड्यो । 

अन्य गाउँलेले पनि पूजाआजाको शुरुआत गरे । इच्छाकामना मन्दिर परिसरमा शिवालयको मन्दिर र गणेशको मूर्ति पनि स्थापना भएको छ । 

प्रत्येक वर्ष पञ्चमी तिथिमा मेला 

प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्ने गर्दछ । मेलामा राँगा, बोका, हाँसको अण्डा र कुखुराको बलि दिइन्छ । घन्ट र त्रिशूल पनि चढाउने गरिन्छ । मेलामा देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्दछन् । रातभर नाचगान र रमाइलो गरेपछि बिहान पूजाआजा गरिन्छ । 

इच्छाकामना मन्दिर सामुन्द्रिक सतहदेखि एक हजार ८०० मिटरको उचाइमा रहेको छ । इच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ । फागुन, चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । वनपाखा फूलले ढकमक्क हुन्छन् । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश माछापुच्छे«सम्म देख्न सकिन्छ । 

मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पूँजी हर्कबहादुर गुरुङले बताउनुभयो । मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि हुँदै आएको स्थानीय होटल व्यवसायी ज्ञानबहादुर गुरुङ बताउनुहुन्छ । इच्छाकामना मन्दिर दर्शनपश्चात् बास बस्न चाहनेका लागि मन्दिर नजिकै खान बस्नका लागि पनि होटल तथा आवासको सुविधा रहेको गुरुङले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!