कारागार कार्यालय भरतपुरमा एक कैदीको मृत्यु

Posted on: 23 Jun, 2019

असार ८, चितवन । कारागार कार्यालय भरतपुरमा शनिबार राति एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको कलैया नगरपालिका घर भएका ५८ वर्षीय भरतबहादुर थापा रहेको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

काफ्लेका अनुसार थापा विसं २०७४ मा जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका थिए । थापालाई क्यान्सर रोगको सङ्क्रमण देखिएपछि एक महीना अघि चितवन पठाइएको थियो । 

यसैबीच बाघको आक्रमणमा परी घाइते भएका माडी नगरपालिका–६ कल्याणपुरका गङ्गाधर सुवेदीको निधन भएको छ । भरतपुर अस्पतालमा उपचारको क्रममा सुवेदीको शनिबार निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उपचारको क्रममा सुवेदीको टाउकोको शल्यक्रियासमेत गरिएको थियो ।

असार ३ गते दिउँसो माडीको सिमरा गाउँ नजिकै काँसघारीमा गाईवस्तु चराउन गएका ६७ वर्षीय सुवेदीलाई बाघले आक्रमण गरेको थियो ।

इच्छाकामना मन्दिरको पुनःनिर्माण शुरु

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिरको पुनःनिर्माण कार्य शुरु भएको छ । सो मन्दिरको शनिबार प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले शिलान्यास गर्नुभयो । मन्दिरको शिलान्यास गर्दै प्रमुख कोइरालाले धार्मिकस्थलको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभयो । उहाँले मन्दिर पुनःनिर्माणका लागि आफ्नोतर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । 

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले इच्छाकामना धार्मिक र पर्यटकीयस्थल रहेको थलो भएको बताउनुभयो । 

गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले इच्छाकामनाको विकासविना समृद्ध चितवन बन्न नसक्ने भन्दै यहाँका धार्मिक तथा पर्यटकीयस्थलको विकासमा विशेष जोड दिनुपर्ने बताउनुभयो । सबैको आस्थाको धरोहर इच्छाकामना मन्दिरको प्रचारप्रसार र विकासका लागि गाउँपालिका लागिपरेको उहाँले बताउनुभयो । उद्योग वाणिज्य सङ्घ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले इच्छाकामनाको धार्मिक धरोहरलाई सबै मिलेर संरक्षण गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले मन्दिर पुनःनिर्माणका लागि रु ५० लाख प्रदेश सरकारबाट प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार काठ किन्न मात्र रु ३५ लाख लाग्ने छ । मन्दिर पुनःनिर्माणका लागि करीब रु तीन करोड लाग्ने बताउँदै उहाँले आवश्यक सहयोगका लागि पहल गरिदिन सबैलाई अनुरोध गर्नुभयो । 

गोरखाको शहीद लखनगाउँपालिका–२ मा रहेको मनकामनामा माताको मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छ्याएको पूरा हुने धार्मिक विश्वास छ । मनकामनामाईको सात दिदीबहिनी थिए । तीमध्ये एक बहिनी रहेको किंवदन्ती रहेको मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताउनुभयो । 

यहाँ प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्ने गर्दछ । 

मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पुजारी हर्कबहादुर गुरुङले बताउनुभयो । मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि हँुदै आएको स्थानीय होटल व्यवसायी ज्ञानबहादुर गुरुङ बताउँछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!