त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

Posted on: 13 Jul, 2019

असार २८, भरतपुर | पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् । 

गए राति १:३० बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । 

ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गाडीका चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 

ट्रक पूरै पानीमा डुबेको र  नदीमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!