मनकामनाका पुजारीलाई बन्दुक लिएर शिकार खेल्दै हिँडेको आरोप लागेपछि...

Posted on: 27 Apr, 2020

वैशाख १६, गोरखा । मनकामना मन्दिरका मुल पुजारी इन्सान थापा मगरको तीन बन्दुकको इजाजत मध्ये दुई वटाको इजाजत खारेज भएको छ ।

सुरक्षाको लागी भनि लिएको बन्दुकले शिकार खेल्दै हिँडेको गुनासो आएपछि उनले इजाजत लिएका बन्दुकहरुको इजाजतनै खारेज गर्नुपरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् । इजाजत खारेज भएका उक्त हतियार अब सरकारको नाममा जाने भएको छ ।

थापाले इजाजत लिएका एकनाले भरुवा र १२ बोरको बन्दुकको इजाजत खारेज गरिएको हो । थापाले आवश्यकता नरहेको भन्दै निवेदन दिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार इजाजत खारेज भएका दुई बन्दुक जिल्ला प्रहरी कार्यालयमा छ ।

सुरक्षाका लागि लिएको हतियार प्रयोग गर्दै पुजारीले शिकार खेल्ने गरेको गुनासो चौतर्फी बढेपछि प्रशासन दबावमा थियो ।

वैशाख ५ गते शुक्रबार राति नौ बजे हतियार सहित पुजारी मगरलाई शहिद लखन गाउँपालिका–४ को ढोडेनी जंगलबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । रातको समयमा उनी शिकार खेल्न हिँडेको स्थानीयको दाबी छ ।

पुजारीको साथमा भएको २२ बोरको राइफल प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त हतियार हालसम्म प्रहरीकै नियन्त्रणमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!