त्रिशूलीमा जीप खस्यो, खोजी कार्य जारी

Posted on: 02 Jul, 2020

असार १८, चितवन। पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर वेपत्ता भएको  छ । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जीप नदीमा खसेको  सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले जानकारी दिनुभयो । 

स्थानीय सुनमाया चेपाङले माछा मार्न थापिएको जाल लिन जाँदा जीप खसेको देखेपछि नजिकैका व्यक्तिमार्फत सशस्त्र प्रहरीलाई खबर आएको र तत्कालै आफ्नो नेतृत्वमा गोताखोर टोली परिचालन भएको उहाँले बताउनुभयो । 

अहिले सशस्त्रको सो टोली सहित जिल्ला प्रहरी कार्यालय धादिङ र आदमघाटस्थित सशस्त्र टोलीले खोजी कार्य जारी राखेका छन् । प्रत्यक्षदर्शीका अनुसार  खसेको सो जीप एम्बुलेन्स जस्तो देखिने सेतोमा कालो धर्का भएको बताइएको छ ।  वरिष्ठ उपरीक्षक धौबजीले भन्नुभयो, “जीप काठमाडौँतर्फ जाँदै गरेको अनुमान गरिएको छ । जीपमा कति सवार रहेका थिए भन्ने एकीन भइसकेको छैन । गोताखोरले पानीभित्र झण्डै २५ फिट तलसम्म  हेर्दासमेत जीप फेला परेको छैन । ” रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!