दाहालद्वारा सौराहालगायत डुबान क्षेत्रको अवलोकन

Posted on: 12 Jul, 2020

असार २८, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डुबानमा परेको जिल्लाको पर्यटकीय क्षेत्र सौराहालगायतका पूर्वी चितवन क्षेत्रको आज अवलोकन गर्नुभएको छ । कालिका नगरपालिकाका विभिन्न डुबान क्षेत्र, राप्ती हुँदै दाहालले सौराहाको डुबान क्षेत्रको अवलोकन गर्नुभएको हो । 

कालिका नगरपालिकाको डुबान भएको वडा नं २, ३, ६ र ७ का विभिन्न क्षेत्रको दाहालले अवलोकन गर्नुभयो । कालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार ती क्षेत्रमा पुङखोलाको बाढीले डुबान गराएको हो । खोलाको पानीलाई डाइभर्सन गरी थाङखोलामा मिसाउन सकिने भन्दै दाहाललाई थाङखोलाको निरीक्षण गराइएको थियो । 

दाहालले राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाको राप्ती नदी किनारमा लगाइएको ड्याकको स्थलगत निरीक्षण गर्नुभएको छ । ती नगरपालिकाका प्रमुखले दाहाललाई त्यहाँको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । राप्ती नगरप्रमुख प्रमुख प्रभा बराल र खैरहनीका प्रमुख लालमणि चौधरीले बाढी रोक्नका लागि तत्काल गर्नुपर्ने र दीर्घकालीन उपायका बारेमा दाहाललाई जानकारी गराउनुभएको थियो । 

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बाढीका कारण राप्ती नदी पारी स्थानीयको लालपूर्जा भएको जग्गा पुगेको भए पनि उनीहरुले केही पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले निजी हात्ती चरनको समस्या भएको दाहाललाई जानकारी गराउनुभएको थियो । दाहालले ती समस्याका बारेमा राजधानी फर्किएपछि समाधानका लागि पहल गर्ने बताउनुभयो ।  

पर्यटकीय क्षेत्र सौराहाको चित्रसारी क्षेत्रमा रहेका अधिकांश होटल तथा रेस्टुराँ डुबानमा परेका छन् । खगेरी खोलामा आएको बाढीले रत्ननगरका वडा नं ७ र ८ मा रहेका होटल तथा रेस्टुराँ डुबानमा परेका हुन् । दाहालले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकामा बाढीबाट प्रभावित भएका क्षेत्रको निरीक्षण गर्नुभएको थियो । दाहाल क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!