बस्ती जोखिममा परेपछि ४० परिवारले घर छाडे

Posted on: 21 Jul, 2020

साउन ६, चितवन | मुग्लिन–चितवनको एक मात्र गाउँपालिका इच्छाकामना–५ भोटेस्वरामा एक घर पहिरोले बगाएको छ भने बस्ती नै जोखिममा परेको छ । आइतबारदेखि परेको अविरल वर्षाका कारण गएराति कमल विकको घर बगाएको हो । पहिरोको जोखिम आँकलन गरेर उनीहरु राति नै बुबाआमाको घरमा गएर बसेका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीय शिक्षक यानबहादुर गुरुङले जानकारी दिनुभयो ।

यसैबीच भोटेस्वरा, बदेँलटार, मड्केनी र बक्सेर रानागाउँका ४० घरपरिवारले घर छाडेका छन् । बस्ती नै जोखिममा परेपछि ती गाउँका बासिन्दा पामडाँडा आधारभूत विद्यालयको भवन र छिमेकी गाउँ किटस्वरा गाउँमा आएर बसेको शिक्षक गुरुङले जानकारी निुभयो । साथै पहिरोले खानेपानी पाइप बगाउँदा खानेपानी हाहाकार भएको छ । किटस्वरा, पामडाँडा र साठीमुरेका करिब ७० घरधुरीले खाने पानीको पाइप बगाएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच वडाध्यक्ष मोदराज सिलवालले वडा नं ५ कै मुग्लिनबजारमा दुई घर पहिरोले बगाएको र पाँच घर जोखिममा रहेको जानकारी दिनुभयो । ती परिवारलाई त्रिवेणी वराह मावि मुग्लिनमा बस्ने व्यवस्था मिलाइएको वडाध्यक्ष सिलवालले बताउनुभयो । अहिले कहाँ कति क्षति भएको छ भन्नेबारे विवरण लिने काम भइरहेको उहाँले जानकारी दिनुयभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!