चेपाङ विद्यार्थीका लागि भान्छाघर निर्माण

Posted on: 11 Nov, 2020

कात्तिक २६,  मुग्लिन । हेल्पकोड नेपाल मुग्लिङले चितवनको इच्छाकामना–६ स्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा भान्छाघर निर्माण गरिदिएको छ । मङ्गलबार एक कार्यक्रममा हेल्पकोड नेपालका कार्यक्रम निर्देशक भरत पाठकले विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर प्रजा र प्रधानाध्यापक ज्ञानुदेव पाण्डेलाई विद्यार्थीहरुका लागि खाजा पकाउन प्रयोग गर्न निर्माण गरिएको भान्छाघर विद्यालयलाई हस्तान्तरण गर्नुभयो । 

कार्यक्रममा  इच्छाकामना–६ का वडाध्यक्ष भूपेन्द्र चेपाङले हेल्पकोड नेपालले विगत छ वर्षदेखि नै विद्यालयमा विभिन्न सहयोग गर्दै आएको भन्दै हेल्पकोड नेपालका विभिन्न सहयोगले विद्यार्थीलाई विद्यालयसम्म नियमित आउन पे्ररित गरेको बताउनुभयो ।  

प्रधानाध्यापक पाण्डेले अब विद्यालयले शैक्षिक गुणस्तर सुधारमा जोड दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी दिनमा पनि सहयोग अपेक्षा गर्नुभयो । उहाँले विद्यार्थीका लागि खाजा पकाउने भान्छा नहुँदा बाहिरै पकाएर खुवाउनु पर्ने अवस्थाको अन्त्य भएको भन्दै हेल्पकोड नेपाललाई धन्यवाद दिनुभयो । 

कार्यक्रममा हेल्पकोड नेपालमार्फत विद्यार्थीहरुलाई मास्क, सेनिटाइजर, साबुनलगायत सरसफाइका सामग्री  वितरण गरिएको थियो । कक्षा  ५ सम्म  पढाइने हुने यस विद्यालयमा १३४ चेपाङ बालबालिका अध्ययनरत छन् । विद्यालयमा खाजा कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीहरु नियमित आउने गरेको प्रधानाध्यापक पाण्डेले बताउनुभयो । उहाँले गत आर्थिक वर्षदेखि शिक्षा मन्त्रालयबाट  खाजा कार्यक्रम कटौती हुँदासमेत विभिन्न व्यक्ति र संस्थाहरुको सहयोगमा उक्त कार्यक्रमलाई विद्यालयले निरन्तरता दिएको  बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!