अनाथ तीनजना बालकले पाए अभिभावकत्व

Posted on: 30 Apr, 2018

वैशाख १७ डडेल्धुरा | डडेल्धुरा भित्री मधेश क्षेत्रमा रहेका ६२ वटा सामुदायिक विद्यालयमध्ये परशुराम नगरपालिका–१२ जोगबुढामा रहेको सिद्धनाथ माध्यमिक विद्यालयले तीनजना अनाथ बालकलाई भर्ना गरेको जनाएको छ । तीनजना अनाथ बालकलाई विद्यालयमा भर्ना गरी अभिभावकत्वसमेत प्रदान गरिएको छ । 

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–८ पिल्लरी घर भएका पाँच वर्षीय अम्मर बोहरा बुबाको मृत्यु भई आमाले छोडेर गएपछि अभिभावकविहीन भएका थिए । अमरलाई स्थानीय विद्यालयमा भर्ना गरी राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीले अभिभावकत्व प्रदान गरेको जनाउनुभएको छ । 

सबै बालबालिकाले विद्यालयमा पढ्न पाउने बाल अधिकारको सुरक्षाका लागि आफूले अमरको जिम्मा लिई उच्च शिक्षासम्मको जिम्मा लिएको राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीले जानकारी गराउनुभयो । 

सोही विद्यालयमा भर्ना गरिएका अर्का असहाय छ वर्षीय वीरबहादुर बोहरालाई जोगबुढा स्रोत केन्द्रका स्रोत व्यक्ति भोजराज ऐरले पठनपाठनको जिम्मा लिनुभएको हो भने अर्का छ वर्षीय असहाय बालक सन्तोष बोहराको सोही विद्यालयका शिक्षक मानबहादुर बोहराले अभिभावकत्व दिएको जोगबुढा स्रोत केन्द्रका स्रोतव्यक्ति भोजराज ऐरले जानकारी गराउनुभयो । 

वैशाख २ गतेदेखि शुरु गरिएको भर्ना अभियानअन्तर्गत नगरका बस्तीमा गई अनाथ, टुहुरा, असहाय, आपाङ्गता भएका विद्यार्थीको खोजी गरी विद्यालयमा भर्ना गरिएको छ । विद्यालय बाहिर रहेका अनाथ बालबालिकालाई समेत भर्ना गरिएको जिल्ला शिक्षा अधिकारी वसन्तकुमार खत्रीले जानकारी गराउनुभयो । 

उनीहरुको कक्षा १२ सम्म अध्ययन गर्ने सहज वातावरणका लागि अभिभावकसमेत खोजी अभिभावकत्व प्रदानसमेत गरेको त्रिवेणी बहुमुखी क्याम्पसका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दलबहादुर साउदले बताउनुभयो । 

उहाँहरुले ती बालकको उच्च शिक्षा अध्ययनसम्म अभिभावकको भूमिका निर्वाह गर्नुहुने जनाएका छन् । आफ्नै उमेरका अन्य बालबालिकासँग विद्यालयमा भर्ना हुन पाउँदा अनाथ तीनजना बालक खुशी भएका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!