डडेल्धुरामा आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि

Posted on: 11 Jan, 2018

पुस २७, डडेल्धुरा । जिल्लामा यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको छ । 

उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिनुभयो । 

यस वर्ष २४ हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कार्यालयले गत वर्ष किसानलाई ५० मेट्रिक टन आलुको बीउ वितरण गरेको थियो । यस वर्ष करिब १०० मेट्रिक टन आलुको बीउ अनुदानमा वितरण गरेको विष्टले बताउनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत डडेल्धुरालाई आलु उत्पादनको सुपर जोन क्षेत्र घोषणा गरिएपछि किसान उत्साहित भएका छन् । आलुखेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि केही वर्षदेखि आलुखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको विष्ट बताउनुहुन्छ । 

आलुखेतीतर्फ किसानको आकर्षण बढाउन कृषि विकास कार्यालयले विभिन्न कार्यक्रमअन्तर्गत अनुदानमा आलुको बीउ वितरणका साथै प्राविधिक सहयोगसमेत गर्दै आएको छ । अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकालाई आलुखेतीका लागि कार्यालयले पकेट क्षेत्र घोषणा गरेको छ । 

हिउँदे बाली लगाउँदा जंगली जनावरले नष्ट गर्ने हँुदा पछिल्लो समयमा कृषक आलु र तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । अजयमेरु गाउँपालिका–१ समैजीका कृषकले अन्य बाली लगाउन छोडेर आलुखेतीतर्फ लागेका छन् । 

गहुँबाली लगाउने करिब १० रोपनीमा आलुखेती गरेको समैजीका माधवी भण्डारी बताउनुहुन्छ । आलुखेतीसँगै गोलभेँडा, काउली, बन्दागोभी र हरियो सागपात लगाउने क्रम बढ्दै गएको छ । 

यस वर्ष जिल्लामा हिउँदे आलुखेती ५५५ हेक्टर क्षेत्रफलमा र बर्खे आलुखेती २८५ हेक्टरमा क्षेत्रफलमा गरिएको थियो । गत वर्ष जिल्लाबाट तीन हजार मेट्रिक टन आलु निर्यात भएको थियो । 

छत्तिस करोडको आलु उत्पादन 

डडेल्धुरामा आव २०७३÷७४ मा रु ३६ करोड मूल्य बराबरको आलु उत्पादन भएको थियो । जिल्लाभरिमा गत वर्ष १८ हजार मेट्रिक टन आलु उत्पादन भएको थियो । आधुनिक प्रविधीकरणका किसानको आलुखेतीका बारेमा ज्ञान बढ्दै गइरहेको छ । 

गत वर्षदेखि डडेल्धुराबाट ठूलो परिमाणमा आलु अन्य जिल्ला निर्यात भइरहेको छ । गत वर्ष जिल्लाबाट तीन हजार मेट्रिक टन आलु निर्यात भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत किसानलाई आलुको बीउदेखि अन्य आर्थिक र प्राविधिक सहयोग प्राप्त हुन थालेको छ । 

जिल्लामा वर्षको दुईपटक आलुखेती हुँदै छ । बर्खे आलुबाट बढी फाइदा हुने गरेको अमरगढी–७ पोखराका लक्ष्मी कामीले बताउनुभयो । बर्खामा आलु कम उत्पादन हुने भएकाले मूल्य बढी पाउने उहाँ बताउनुहुन्छ । किसानले अहिले आलु प्रतिकिलो रु २० देखि रु २५ सम्ममा बिक्री गरिरहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!