डडेल्धुरामा तरकारी तथा अन्नबालीको बीउको माग बढ्दो

Posted on: 30 Jan, 2018

माघ १६, डडेल्धुरा | जिल्लामा उत्पादन भएका विभिन्न किसिमका तरकारी, दाल र अन्नबालीको बीउको माग बढ्दो छ । 

जिल्लामा उत्पादन गरिने अन्नबालीको बीउको माग विभिन्न जिल्लाबाट आउन थालेको छ । मागलाई ध्यानमा राखेर यहाँ उत्पादन गरिएका विभिन्न तरकारी, दाल र सागका बीउ अन्य जिल्लामा पठाउने गरेको लक्ष्मी एग्रोभेटका लक्ष्मी पाण्डेयले जानकारी दिनुभयो । 

जिल्लामा उत्पादन भएको मकैको बीउ चार सय २० टन र सिमी २० क्विन्टल जिल्ला बाहिर पठाएको र अझै माग गरिएको साउद एग्रोभेटका करन साउदले बताउनुभयो । जिल्लाबाट बैतडी, डोटी, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, बाँके, बर्दियालगायत अन्य ठाउँमा पठाउने गरिएको छ । 

जिल्लामा उत्पादित बीउ राम्रो र उत्पादन धेरै दिने भएकाले यहाँ उत्पादन भएको बीउको माग बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । मकै र भटमासको बीउको माग समेत विभिन्न जिल्लाबाट आएको कार्यालयले जनाएको छ । अन्य वर्षको तुलनामा बीउ उत्पादनमा वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । गतवर्ष जिल्लाबाट करिब ५२ टन बीउ अन्य जिल्ला पठाइएको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!