डडेल्धुराको सुनखोलामा तीन महिनामै पक्की मोटरेबल पुल निर्माण

Posted on: 07 May, 2017

बैशाख २४, डडेल्धुरा । डडेल्धुराको वुडर जोगबुढा सडकखण्डको सुनखोलामा तीन महिनामै पक्की मोटरेबल पुल निर्माण गरिएको छ । 

डडेल्धुराको आलिताल गाउँपालिका र पर्शुराम नगरपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने एकमात्र वुडर जोगबुढा सडकको सुनखोलामा निर्माण गरिएको पक्की मोटरेबल पुल निर्माण भएको निर्माण कम्पनी सवकन्स्ट्रयाक्टर जय विष्णु निर्माण सेवा प्रालि काठमाडौँका इन्जिनियर अनिल सिलवालले बताउनुभयो । 

स्थानीय पूर्वाधार कृषि सडक आयोजनाअन्तर्गत जिल्ला समन्वय समिति, डडेल्धुराको रु एक करोड ७३ लाखको लागतमा निर्माण भएको पुलको लम्बाइ २५.५ मिटर रहेको छ । एक वर्षमा निर्माण सम्पन्न गर्ने गरीे सम्झौता भए पनि निर्माण सुरु गरेको तीन महिनामै सम्पन्न गरेको जिल्ला समन्वय समिति, डडेल्धुराले जनाएको छ । 

सुनखोलामा पक्की मोटरेबल पुल निर्माण हुँदा जिल्लाको भित्रि मधेस क्षेत्रका सयौँ गाउँका हजारौँ स्थानीय बासिन्दालाई आवतजावत गर्नका साथै यातायात सञ्चालनमा सहज भएको छ । वुडर जोगबुढा सडकमा दैनिक दर्जनौँ मालबाहक र यात्रुबाहक सवारी साधन सञ्चालन हुने गरेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!