प्रदेश ७ कै सबैभन्दा ठूलो शीतभण्डार सञ्चालनमा

Posted on: 13 Apr, 2018

चैत ३०, डडेल्धुरा | डडेल्धुरामा प्रदेश ७ कै ठूलो र पहिलो आधुनिक प्रविधियुक्त शीत भण्डार सञ्चालनमा आएको छ । यहाँ शीतभण्डार सञ्चालनमा आएसँगै डडेल्धुरालगायत पहाडी जिल्लाका कृषक हर्षित भएका छन् । अमरगढी नगरपालिका–१ दहमा स्थापित उग्रतारा शीतभण्डारको बिहीबार साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाका क्षेत्रीय निर्देशक गोकर्णराज अर्यालले उद्घाटन गर्नुभएको हो । 

विसं २०७४ वैशाखभित्र सम्पन्न गर्ने सम्झौता भए पनि करीब १ वर्ष ढिलो गरी शीतभण्डारको निर्माण सम्पन्न भएको हो । किसानले कोल्ड स्टोरमार्फत आलुको बीउलाई मात्रै सुरक्षित राख्न सके ३० प्रतिशत आयस्तरमा वृद्धि हुने आयोजना प्रमुख अर्यालले बताउनुभयो । 

“शीतभण्डारको निर्माणपछि उत्पादन गरेकै समयमा बिक्री गर्न नसक्दा कृषकले सहनुपर्ने घाटा र व्यवसायीद्वारा कुहिएको तरकारी तथा फलफूलको मूल्य उपभोक्ताबाट अशुल्ने समस्याबाट बच्न सकिन्छ,” उहाँले भन्नुभयो । रु पाँच करोड ५७ लाख लागतमा निर्माण सम्पन्न भएको पाँचतले कोल्ड स्टोरको क्षमता एक हजार ४५० मेट्रिक टन रहेको छ । नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिज्मएफपी) को ६५ प्रतिशत अनुदान सहयोग र जिल्लाका उद्योग व्यवसायीको ३५ प्रतिशत लगानीमा स्थापना भएको उग्रतारा शीतभण्डार उद्योगका अध्यक्ष भोजराज भट्टले जानकारी दिनुभयो । 

शीतभण्डार सञ्चालनमा आएसँगै डडेल्धुरा जिल्लाका व्यावसायिक कृषकको आयस्तरमा वृद्धि हुने अपेक्षा गरिएको छ । शीतभण्डार सञ्चालनमा आए पछि आलु र आलुको बीउका साथै अन्य कृषि उपज पनि सहजै भण्डारण गर्न सकिने भएबाट किसान उत्साहित भएका छन् । आफ्नो बारीमा तरकारी उत्पादन भए पनि सस्तो मूल्यमै तराईका जिल्लामा पठाउनुपर्ने बाध्यता हटेको कृषक पशुपति ऐरले बताउनुभयो ।  रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!