प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी

Posted on: 24 Jun, 2018

असार १०, धनगढी | प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताउनुभयो । 

बजेट बनाउँदा सन्तुलन नमिलाइएका र छुटेका विषय छलफल गर्दै यसमा समेटिनुपर्ने उल्लेख गर्दै उनीहरुले बजेट कार्यान्वयन पक्षलाई विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

यसरी धारणा व्यक्त गर्ने सदस्यहरुमा देवकी मल्ल थापा, रतनबहादुर थापा, महेशदत्त जोशी र लीलाधर भट्ट हुनुहुन्छ । 

प्रदेशसभाको असार १ गतेको बैठकमा सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गरिएको थियो । 

आजको बैठकको प्रारम्भमा आर्थिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले गाउँसभा र नगरसभा कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश आकस्मिक कोष विधेयक २०७५ र जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ टेबुल गर्नुभयो । 

प्रदेशसभाको अर्को बैठक असार ११ गते अपराह्न ४ बजे बस्ने छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!