गणतन्त्र दिवस डडेल्धुरामा पनि विविध कार्यक्रम गरी मनाईने

Posted on: 26 May, 2017

ललित बोहरा । जेठ १२, डडेल्धुरा | डडेल्धुरामा पनि विविध कार्यक्रम गरी १० औँ गणतन्त्र दिवस मनाईने भएको छ ।

स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीको अध्यक्षतामा २२ सदस्यीय गणतन्त्र दिवस जिल्ला समारोह समितिको गठन गरी दिवस मनाईन लागेको स्थानीय विकास अधिकारी पराजुलीले जानकारी दिए ।

दिवस यहि जेठ १४, १५, र १६ गते मनाईने भएको छ । दिवसको अवसरमा सबै सरकारी कार्यालय, राजनितिक दल, संघ सस्थाहरु, लगायत सबैमा घर–घरमा साझ दिपावली गर्न अनुरोध गरिएको छ । दिवसको अवसरमा जेठ १४ गते अमरगढी नगरपालीका, उद्योग बाणिज्य संघ डडेल्धुरा र जिल्ला युवा समितिको समन्वयमा अमरगढी नगर क्षेत्रको बसपार्कदेखि तुफानडाँडा सम्मको सरसफाई गरिने छ । 

त्यस्तै उग्रतारा मन्दिर परिसर नेपाली सेनाले, घटालथान परिसर जनपद प्रहरीले र शिव मन्दिर परिसरमा शसस्त्र प्रहरीले सरसफाई गर्ने  भएका छन् । दिवसको अवसरमा जेठ १५ गते बिहान ७ बजे तिर बसपार्कबाट प्रभात फेरी सुरु गरी जिल्ला समन्वय समितिको प्राङ्गणमा औपचारिक कार्यक्रम गरिने भएको छ ।

दिवसको अवसरमा रेडक्रस डडेल्धुरा साखाले पनि १५ गते रक्तदान गर्ने कार्यक्रम राखेको छ । दिवसलाई अझै प्रभावकारी तरिकाले सम्पन गर्न जिल्लाका सबै गाउँपालिकालाई दिवस मनाउन जिल्ला समन्वय समितिको कार्यालयबाट पत्राचार गरिने स्थानीय विकास अधिकारी पराजुलीले जानकारी दिए ।

जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!