प्रदेश नम्बर ७ मा प्रधामन्त्री देउवालाई यसरि लाग्यो धक्का

Posted on: 04 Jul, 2017

असार २०, डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरवहादुर देउवाको गृह क्षेत्र प्रदेश नम्बर ७ मा कांग्रेसको बहुमत जित्ने लक्ष्य असफल भएको छ । त्यतिमात्र होइन कांग्रेसलाई पहिलो दल बन्न पनि गाह्रो हुँदैछ ।

 प्रदेश नम्बर ७ का ८८ स्थानीय तहमध्ये ८१ ठाउँको मतगणना सकिँँदा कांग्रेस एमालेभन्दा तीन सिटले मात्र अगाडि छ । मतगणना भइरहेका कैलाली र कञ्चनपुरका ७ स्थानीय तहको पछिल्लो रुझान हेर्दा कांग्रेस एक ठाउँमा मात्र अग्रता लिइरहेको छ ।

 एमालेले तीन र माओवादीले दुई स्थानमा अग्रता लिएका छन् भने धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार अघि बढेका छन् । यदि मतगणनाको यहि रुझान अन्तिमसम्म रहेको अवस्थामा ७ नम्बर प्रदेशको पहिलो पार्टी कांग्रेस होइन एमाले बन्ने छ ।

 अहिलेसम्म कांग्रेसले ३७ र एमालेले ३४ स्थानीय तहमा जित हासिल गरेका छन् । माओवादीले अहिलेसम्म ७ नम्बर प्रदेशमा ९ स्थान जितेको छ । मतगणना चलिरहेकामध्ये कांग्रेसले कञ्चनपुरको भिमदत्त नगरपालिकामा मात्र अग्रता लिएको छ । यो अग्रता अन्तिमसम्म कायम रहनेमा कांग्रेसकै नेताहरु ढुक्क छैनन् ।

 कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । त्यस्तै बेलौरी नगरगरपालिकामा माओवादीको अग्रता छ । कैलालीका अब तीन स्थानीय तहको गणना बाँकी रहँदा कुनै पनि ठाउँमा कांग्रेसको अग्रता छैन ।

 लम्कीचुहा नगरपालिकामा एमाले जिततर्फ उन्मुख भइरहेको छ भने घोडाघोडीमा माओवादीको जितको सम्भावना छ । ७ नम्बर प्रदेशकै एकमात्र धनगढी उपमहानगरपालिकामा पनि कांग्रेसको अग्रता तोडिएको छ । स्वतन्त्र उम्मेदवार गोपाल हमालले कांग्रेसलाई अन्तिमसम्मै टक्कर दिने अनुमान गरिएको कारण कांग्रेसले अब बाँकी रहेका ७ स्थानीय तहबाट ठूलो परिणाम आशा गरेको छैन ।

 यदि एमालेले अग्रता कायम गरेका ३ तहमा मात्रै जितेसम्म कांग्रेस पहिलो एक सिटले भने पनि पहिलो दल हुन सक्छ । तर, भिमदत्त र धनगढीमा जित सुनिश्चित नगर्ने हो भने कांग्रेस ७ नम्बर प्रदेशमै एमालेभन्दा पछि पर्नेछ ।

 कांग्रेस सभापति शेरवहादुर देउवा आफै पार्टीलाई जिताउन एक साता यहाँ ढुक्कैले बसेका थिए । कांग्रेसका प्रभावशाली नेताहरु रमेश लेखक, एनपी साउद, पुष्कर ओझाहरु पनि चुनावमा सबै शक्ति लगाएर खटिएका थिए ।

 रमेश लेखकले नै मतदान गरेको बेदकोट नगरपालिकामा एमालेले मेयर उपमेयर सहित बहुमत जित्यो । देउवाकै गृहजिल्लामा राम्रो नतिजा आएन । ७ नम्बरमा कांग्रेसलाई जोगाउने भनेको कैलाली र कञ्चनपुर हो । कैलालीमै एमाले पहिलो दल बन्दैछ भने कञ्चनपुरमा पनि एमाले नै पहिलो बन्ने सम्भावना छ । २०५४ सालपछि एमालेको अवस्था पहिलो पटक सुध्रिएको हो ।

 कांग्रेसलाई यसपटक ७ नम्बर प्रदेशमा दार्चुला, बैतडी, अछाम र बाजुराले जोगाइदिएको छ । एमाले प्रभावका दार्चुला, बाजुरा र अछाममा राम्रो नतिजा आउँदा कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न सम्भव भयो ।

 माओवादीले प्रदेश नम्बर ७ बाट जुन नतिजा ल्याएको छ त्यो उल्लेख्य नै हो । २०७० सालको संविधानसभा चुनावमा प्रदेशभरिबाट एक सिट जितेको माओवादीले यसपटक अछाम, डडेलधुरा, दार्चुला, डोटी जस्ता जिल्लामा खाता खोलेको छ भने कैलाली र कञ्चनपुरमा पनि उपस्थिति राम्रो देखाएको छ ।

 एमालेले चुनावअघि ७ नम्बर प्रदेशमा ४५ सिट जित्ने दाबी गरेको थियो । कांग्रेसले ५० सिट कटाउने दाबी गरेको थियो भने माओवादीले २८ सिट ल्याउने दावी गरेको थियो । तर, नतिजा भने कांग्रेसलाई प्रतिकुल आएको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!