अजयमेरु गाउँपालिकाका सबै कार्यालयमा इ–हाजिरी

Posted on: 02 Feb, 2018

माघ १९, डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक अजयमेरु गाउँपालिकाले सबै कार्यालयमा विद्युतीय इ–हाजिरी शुरु गर्ने भएको छ । 

कर्मचारीलाई समयको पालना गराउनका लागि र सेवालाई प्रभावकारी बनाउनका कर्मचारीको उपस्थिति परदर्शी हुनुपर्ने भन्दै इलेक्ट्रोनिक हाजिरी गाउँपालिकाका सबै कार्यालयमा शुरु गरिन लागेको अजयमेरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी गराउनुभयो । 

अनुशासन र समयको पालना गराउन साथै मर्यादित बनाई सेवालाई दु्रतगतिमा अगाडि बढाउनका लागि सबै कार्यालयमा इ–हाजिरीको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ रहेको छ । 

छवटा वडा रहेको अजयमेरु गाउँपालिकाका सबै वडा कार्यालय, अधारभूत र माध्यमिक गरी १७ वटा विद्यालय, पाँचवटा स्वास्थ्य कार्यालय र एक गाउँपालिकाको कार्यालयमा इ हाजिर लगाउने शुरु गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । 

विशेष गरी विद्यालयमा सो हाजिरको व्यवस्था गरिँदा हाजिर हुने शिक्षकले १० देखि ४ बजेसम्म बसे नबसेको थाहा हुने र शिक्षकले विद्यालयमा समय दिँदा पढाइ पनि प्रभावकारी हुने भएकाले इ हाजिरको व्यवस्था गरिन लागेको गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्टले बताउनुभयो । 

कर्मचारीले इ हाजिरी शुरु भएपछि हातको औँलाले हाजिरी यन्त्रमा थिचेर उपस्थित भए नभएको जनाउनुपर्ने हुन्छ र समयको पालना पनि गर्नुपर्ने बाध्यता रहन्छ । अन्य कार्यालयमा पनि कर्मचारी आउने, हाजिर गर्ने र कार्यालय छोड्ने प्रवृत्ति बढेकाले इ हाजिर हुँदा अनिवार्य कार्यालयमा उपस्थित हुनका साथै सेवा प्रभावकारी हुने भन्दै सो हाजिरको प्रावधानको शुरुवात अजयमेरु गाउँपालिकाबाट हुन लागेको वडा नं १ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले जानकारी गराउनुभयो । 

अजयमेरु गाउँपालिकामा जनप्रतिनिधि आएसँगै अन्य गाउँपालिकाको तुलनामा आधुनिक प्रविधिमा बढी जोड दिइएको छ । गाउँपालिकाको लेखा प्रणाली पनि कम्प्युटरकृत भइरहेको र सबै काम तथा लेखा प्रणाली पनि आधुनिक प्रविधिको माध्यमबाट गर्न शुरुवात गरिएको अजयमेरु गाउँपालिकाले जनाएको छ । 

इ हाजिरसँगै अजयमेरु गाउँपालिका र वडा कार्यालयमा रहेका विषयगत कार्यालयमा सिसी क्यामरा पनि राख्ने जनाइएको छ । 

सबै कार्यलाई पारदर्शी ढंगले अगाडि बढाउनका लागि आधुनिक प्रविधिको प्रयोगमा अजयमेरु गाउँपालिकाले जोड दिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!