जनप्रतिनिधि हुनु त यस्तो पो

Posted on: 06 May, 2021

करन ताम्राकार | वैशाख २३, अमरगढी | जनतालाई अप्ठ्योरो पर्दा जनप्रतिनिधिले कस्तो सहयोग गर्दा रहेछन् भन्ने राम्रो उदाहरण अमरगढी नगरपालिकाका प्रमुख र उपप्रमुखले  प्रस्तुत गरेका छन् । 

जिल्लाका सात स्थानीय तहमध्ये अमरगढी नगर प्रमुख विश्वेश्वरप्रसाद ओझा  र उपप्रमुख संगीता भण्डारीले प्रयोग गर्दै आउनुभएको सवारी साधनलाई कोरोना सङ्क्रमितलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स प्रयोगमा लगाउने घोषणा गर्नुभएको छ । उहाँहरुले भन्नुभयो“ जनताको ज्यान जोगाउनु हाम्रो पहिलो कर्तव्य हो , अकालमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो ध्येय छ । कोरोना नियन्त्रणमा नगरपालिकाले पहिलो प्राथमिकता दिएको छ ।” 

नगरप्रमुख , उपप्रमुखले चढ्ने  बोलेरो जीपलाई  नै एम्बुलेन्स बनाउने तथा नगरपालिकाको टिप्परलाई सव वाहन बनाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय  अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।  नगरपालिकाले ११ स्वास्थ्य संस्थामा रहेका ४३  र विद्यालय नर्सिङ कार्यक्रममा कार्यरत दश नर्सलाई कोरोना सङ्क्रमण नियन्त्रणका लागि परिचालन समेत गरेको छ । यसका साथै टोल टोलमा स्वयंसेविका परिचालन गर्दै जनचेतनालाई तीब्रता समेत दिएको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र संघीय अस्पताल डडेल्धुरा अस्पतालमा रहेको जनशक्ति अभाव हुन नदिन नगरपालिकाबाट चार जना स्वास्थ्यकर्मील पठाउने निर्णय समेत गरिइएको छ । 

यसैगरी जिल्ला सदरमुकाममा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आइशोलेसन सञ्चालन गरिएको छ ।  हप्तामा तीन दिन नगरपालिकामा स्वाँव सङ्कलनको व्यवस्था मिलाएको नगरपालिकाले जानाएको छ ।  जिल्लामा ८९६ जना कोरोना सङ्क्रमित छन् भने ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको  छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!