सरसफाईमा मुख्यमन्त्री अग्रसर

Posted on: 25 Aug, 2018

भदौ ९, सुर्खेत | कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाही शनिवार विहानै वेल्चा लिएर सडकमा देखिए । टीसर्ट, ट्राउजर र स्पोर्ट सुजमा २ जना अंगरक्षक सहित हातमा वेल्चा वोकेका मुख्यमन्त्री शाही वीरेन्द्रनगरको घण्टाघर चोकमा पुगे । नेपाल मानव धर्म सेवासमिति सुर्खेतको टोली घण्टाघरमा मुख्यमन्त्री शाहीलाई स्वागतका  लागि तयारी अवस्थामा थियो । मुख्यमन्त्री शाहीलाई मानव धर्म सेवा समितिको टोलीले स्वागत गर्दै गर्दा प्रदेश सरकारकी प्रवक्ता तथा भुमि व्यवस्था एवं कृषि सहकारी मन्त्री विमला केसी र वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी पनि सोही ठाउ आईपुगे ।

मानव धर्म सेवा समितिद्धारा राखिएको नगर सरसफाई कार्यक्रमका वारेमा छोटो मन्तव्य राखिसकेपछि मुख्यमन्त्री शाही आफै सडक छेउछाउमा रहेको फोहोरको थुप्रोमा वेल्चा चलाउन शुरु गरे । मुख्यमन्त्रीलाई साथ दिदै प्रवक्ता विमला केसी र नगरप्रमुख देवकुमार सुवेदी पनि फोहोरको थुप्रो सफा गर्न थाले । बजार सरसफाईपछि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले मानव समाजको सुन्दर र सभ्य परिचय दिन सरसफाइ अपरिहार्य भएको बताए । उनले सरसफाइबाट स्वस्थ्य, स्वच्छ, सुन्दर र सभ्य समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘जहाँ सरसफाइ छ, त्यहाँ मानव आकर्षण बढ्छ, जसको फाइदा सम्बन्धित क्षेत्र, स्थान र समाजले नै लिन्छ’, भन्दैशाहीले  सुन्दर, शान्त र आदर्श समाज निर्माणमा साथ दिन सबैलाई आग्रह गरे । ‘सपार्ने र बिगार्ने दुवै काम हामीमा निहित छ, त्यसैले आउनोस् सुन्दर वीरेन्द्रनगरसहित समृद्ध कर्णाली प्रदेश निर्माणका लागि सबै जुटौँ, रुख रोपौँ, फूल रोपौँ र चेतनामा परिवर्तन गरौँ’, उनले भने, ‘सुन्दर र समृद्ध कर्णाली प्रदेशको निर्माणका लागि आफ्नो सरकारले महिनामा दुई दिन श्रम दिवसका रुपमा मनाउने नीतिगत निर्णय गरेको छ ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!