सुर्खेत–दैलेख सीमावर्ती क्षेत्रमा बाक्लो हिमपात

Posted on: 27 Jan, 2019

माघ १३, सुर्खेत (रासस) | दैलेख–सुर्खेतको सीमावर्ती गुराँसे रातानाङ्ला क्षेत्रमा चार वर्षपछि बाक्लो हिउँ परेको छ । वीरेन्द्रनगरस्थित मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालयले गुराँसे रातानाङ्ला क्षेत्रमा चार इञ्च बाक्लो हिउँ परेको जनाएको छ । 

कर्णालीका हिमाली भेगमा यसअघि नै हिमपात भए पनि दैलेखको गुराँसे र सुर्खेतको रातानाङ्ला क्षेत्रमा बिहीबारदेखि हिउँ पर्न थालेको हो । क्षेत्रीय हावापानी कार्यालयका प्रमुख निराजन सापकोटाले चार वर्षयताकै बाक्लो हिउँ परेको बताउनुभयो । “यसअघि सामान्य हिमपात भए पनि यति बाक्लो हिउँ परेको थिएन,” उहाँले भन्नुभयो । 

जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रमा पश्चिम नेपालको मौसम विवरण सङ्कलन गर्ने अत्याधुनिक प्रविधिको राडार सञ्चालनमा ल्याएको छ । हावापानी कार्यालयले राडारकै सहायताले हिमपात र वर्षाको विवरण सङ्कलन गर्न थालेको छ । गुराँसेसँगै रानिमत्ता, निगालपानी, धरमपोखरा, सेरी गाईबान्नालगायत क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ । बाक्लो हिमपातले यस क्षेत्रका कृषक खुशी भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!