दैलेख कारागारका कैदीबन्दीलाई कारागारमै सामग्री

Posted on: 13 Jun, 2019

जेठ ३०, दुल्लु । दैलेख कारागारका कैदीबन्दीलाई सामग्री हस्तान्तरण गरिएको छ । नेपाली प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला नेतृ शैलजा आचार्यको १०औँ स्मृति दिवसका अवसरमा नेपाल महिला सङ्घ दैलेखले सामग्री हस्तान्तरण गरिएको हो । नेपालको पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसकी वरिष्ठ नेतृसमेत रहनुभएकी आचार्यको स्मृति दिवसको अवसरमा कारागारका कैदीलाई सामग्री हस्तान्तरण गरिएको हो ।

 स्मृति दिवसका अवसरमा नेपाल महिला सङ्घ दैलेखले कारागारका कैदीबन्दीलाई १५ थान कुर्ची, एक भलिबल, एक थान फिल्टर, एक थान घडी, आठ झुल हस्तान्तरण गरेको थियो । यस्तै कारागारका महिला कैदीबन्दीलाई स्तनपान गराउन सहजताका लागि दुई थान पर्दा समेत प्रदान गरिएको छ । महिलालाई सेनेटरी प्याडलगायतका सरसफाइ सामग्री प्रदान गरिएको छ । यसैगरी मनोरञ्जनका सामग्रीमा मादल र खैजडी हस्तान्तरण गरिएको छ ।

नेपाल महिला सङ्घ दैलेखका अध्यक्ष सीताकुमारी रानाले स्मृति दिवसमा होटलका सभाहलमा कार्यक्रम नगरी आफूहरुले कैदीबन्दीलाई सहयोग गरेको बताउनुभयो । प्रदान गरिएको सामग्रीले कैदीबन्दीलाई सहज हुने उहाँको धारणा छ ।

 दैलेख कारागारका जेलर जीतबहादुर खत्रीले कैदीबन्दीका लागि सामग्री प्रदान गरेकामा महिला सङ्घलाई धन्यवाद दिनुभयो । कारागारका कैदी प्रमुख मानबहादुर नेपालीले कैदीबन्दीलाई मनोविमर्श तालीम आवश्यक परेको बताउनुभयो । “कारागारमा थुप्रै किताबहरु छन्, ती किताब राख्ने दराजसमेत छैन”, नेपालीले भन्नुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!