दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द

Posted on: 31 May, 2020

जेठ १८, दैलेख | जिल्लाभरका नागरिकको आपत्कालीन उपचार गर्ने दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ । भारतबाट आएका एक युवक क्वारेन्टिनबाट भागेर स्वास्थ्य कार्यालय दैलेखको आकस्मिक कक्षमा उपचार गराएको र उनको  कोरोना आरडिटी  गर्दा पोजेटिभ देखिएपछि कक्ष बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको  छ ।

बाइस वर्षीय पुरुष मधुमेहका बिरामी हुन् । उनले अस्पतालमा सत्य कुरा नगरेपछि अहिले कक्ष बन्द गर्नुपर्ने अवस्था आएको खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो । उनी आफू एक वर्षअघि भारतबाट आएको भन्दै आकस्मिक कक्षमा भर्ना भएका थिए । बुझ्दै जाँदा केही दिनअघि मात्र भारतबाट आएको मात्र नभई क्वारेन्टिनबाट भागेको खुलेपछि उनको आरडिटी  गरिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि इमर्जेन्सी वार्ड सिल गरिएको हो । उनलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

अहिले अन्य बिरामीको उपचारका लागि छुट्टै आपत्कालीन कक्ष स्थापना गरिएको छ । जिल्लामा स्वास्थ्यकर्मीको अभाव भएका बेलामा झनै समस्या उत्पन्न भएको स्वास्थ्य कार्यालयका प्रमुख डा निरन्जन पन्तले जानकारी दिनुभयो । भारतबाट आएका व्यक्ति सभ्य तरिकाले क्वारेन्टाइनमा नबसेका कारण पनि जिल्लामा धेरै समस्या उत्पन्न भएको छ । प्रदेश सरकारले धमाधम मानिस जिल्ला भित्र्याएपछि स्थानीय सरकार र प्रशासनले थाम्न नसक्ने अवस्था देखिएको छ । अवस्था जटिल बन्दै जान थालेपछि क्वारेन्टिनको विकल्प खोजी गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!