दैलेखमा भेन्टिलेटरसहितको सेवा सञ्चालनमा

Posted on: 09 Sep, 2020

भदौ २४, दैलेख । जिल्ला स्वास्थ्य कार्यालय दैलेखले आपत्कालीनावस्थामा रहेका बिरामीको उपचारका लागि भेन्टिलेटरसहितको सेवा सञ्चालनमा ल्याएको छ । गम्भीर खालका बिरामीको जिल्लामै उपचार गर्ने उद्देश्यले पाँच महिना अगाडि खरीद गरिएको भेन्टिलेटर जनशक्ति अभावले रोकिएको भए पनि अब सञ्चालनमा ल्याइएको स्वास्थ्य  कार्यालयका प्रमुख डा निरञ्जन पन्थले जानकारी दिनुभयो । 

अब जिल्लामै गम्भीर प्रकृतिका बिरामीको उपचारमा सहजता भएको छ । बर्खा याममा सर्पले टोकेका बिरामीलाई समेत जिल्लामै उपचार गर्न सफल भएको बताइएको छ   । जनसङ्ख्याका हिसाबले कर्णालीको दोस्रो ठूलो जिल्ला दैलेखका छिमेकी जिल्ला जाजरकोट, कालीकोट आसपासका जनतासमेत यहाँ सेवा लिन आउने गरेका छन् । यस वर्षदेखि तीनवर्षे दीर्घकालीन योजनानुसार कर्णाली प्रदेश सरकारले रु ४१ करोड लागतमा अत्याधुनिक अस्पताल निर्माणको काम शुरु गर्ने तयारी गरेको स्वास्थ्य कार्यालयका प्रमुख डा  पन्थले जानकारी दिनुभयो । सोको विस्तृत परियोजना प्रतिवेदन निर्माण गरिसकिएको छ । सरकारले क्रमागत बजेट विनियोजनसमेत गरिसकेको छ । गत वर्ष बोलपत्र लागि रकम आए पनि कोरोना कहरका कारण काम  हुन नसकेको र यस वर्षदेखि काम शुरु गरिने पन्थको भनाइ छ । 

पाँच शय्यामध्ये तीन वटा सघन उपचार कक्षका लागि प्रयोग गरिएको तथा दुईमा भेन्टिलेटर सेवा सञ्चालन गरिएको छ । आवश्यक जनशक्ति र अक्सिजन प्लान्ट जडान हुन सके सधैँभरि सेवा सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ ।  

अहिले अस्पतालमा फिजियोथेरापी सेवासमेत सञ्चालनमा छ । विभिन्न रोगको शल्यक्रियासमेत हुने गरेको छ । सामाजिक सेवा एकाइ सञ्चालन गरेर हिंसामा परेका महिलाको सुरक्षा, उपचार सेवा, कानूनी सेवालगायत सबै सेवा एकै स्थानबाट प्रदान गर्ने कार्य पनि शुरु गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!