प्रदेश ५ का मुख्यमन्त्रीद्वारा जलाशयको अवलोकन

Posted on: 11 May, 2018

वैशाख २८ दाङ | प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले घोराही उपमहानगरपालिकाले स्थापना गरेको जलाशयहरुको अवलोकन गर्नुभएको छ । 

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सिमसार क्षेत्र विस्तार गर्ने, पानीको मुहान बढाउने, स्रोतको संरक्षण गर्दै जलाशयबाट किसानले लाभ लिने उद्देश्यले निर्माण गरिएका जलाशयको मुख्यमन्त्रीलाई अवलोकन गराउनुभएको हो । 

घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडाको गँगटे, वडा नं १७ को ढिकपुर र आरोग्य जलाशयको मुख्यमन्त्री पोखरेलले अवलोकन गर्नुभएको हो । 

अवलोकन गर्दै मुख्यमन्त्री पोखरेलले पानीको स्रोत बढाउने र किसानलाई फाइदा पुग्ने खालका जलाशय निर्माणले दीर्घकालीन फाइदा पुर्याउने बताउनुभयो । जलाशयलाई सुरक्षित बनाउँदै अधिकतम लाभ लिन उपमहानगर र स्थानीयवासीलाई आग्रह गर्नुभएको छ । 

जलाशय आसपासमा किसानले मकै र तरकारीखेती गरेर राम्रो आम्दानी गर्न समेत सफल भएका छन् । जलाशयलाई स्थानीयवासीले नै संरक्षण गर्नुपर्ने भन्दै अधिकतम लाभ लिनसमेत सुझाव दिनुभयो । 

जलाशयमा माछापालन र पानीबाट सिँचाइमा विशेष ध्यान दिँदै आयस्रोत बढाउने गरी प्रयोगमा ल्याउन मुख्यमन्त्री पोखरेलले आग्रह गर्नुभयो । 

मुख्यमन्त्री पोखरेलले घोराही १७ गुलरियामा निर्माणाधीन खेल मैदानको समेत अवलोकन गर्नुभएको छ । प्रदेशस्तरको रंगशाला बनाउने गरि आफूहरुले काम गर्ने समेत मुख्यमन्त्री पोखरेलले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!