समाचार लेख्न क्रिकेट खेले दाङका पत्रकारले

Posted on: 10 Jun, 2018

जेठ २७ दाङ | जिल्लाका पत्रकारहरुले क्रिकेट खेलका नियम र समाचार लेखनको अभ्यास गरेका छन् । 

प्रेस चौतारी दाङ र प्रेस सेन्टर दाङले दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा शनिबार घोराहीमा गरेको पत्रकारका लागि क्रिकेट खेल समाचार लेखन तालीमका सहभागी पत्रकारले अभ्यास खेल खेल्दै समाचार लेखेका थिए । 

क्रिकेटको अभ्यास, समाचार लेखन र नियमका बारेमा दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैया, सल्लाहकार किशोरचन्द्र गौतम र खेल शिक्षक देवेन्द्रसिंह ठकुरीले प्रशिक्षण दिनुभएको थियो । 

“जिल्लामा क्रिकेटप्रति आकर्षण वृद्धि गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका छ, खेलका केही प्राविधिक कुराहरु राम्रोसँग नबुझ्दा समाचारमा त्रुटिसमेत देखिने गरेको छ । यसलाई यो तालीमले चिर्ने काम गरेको छ”, दाङ क्रिकेट संघका अध्यक्ष मजगैयाले भन्नुभयो । 

दाङ क्रिकेट संघका सल्लाहकार गौतमले तालीमले क्रिकेट खेलका समाचार लेखमा थप सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले खेलकूदको विकासका लागि उपमहानगरपालिकाले विशेष पहल थालेको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!