लक्ष्मीपुर आयोजना गरिएको शिविरमा एक हजार बढीले स्वास्थ्य लाभ लिए

Posted on: 18 Jun, 2018

असार ४, दाङ | तुलसीपुर उपमहानगरपालिका–१६ को आयोजनामा सो वडाको लक्ष्मीपुर गाउँमा सञ्चालन गरिएको एक दिने महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविरबाट एक हजार बढीले स्वास्थ्य सेवा लिएका छन् । 

स्थानीय महिला सञ्जाललगायत विभिन्न संघसंस्थाको समन्वयमा गरिएको शिविरमा स्थानीय ८६ वर्षीया सीता चौधरीले खुलेर आफ्ना समस्या राख्न पाएकामा खुशी व्यक्त गर्नुभएको छ । 

उहाँले आफूलाई लामो समयदेखि पेट दुख्ने समस्या रहेको भन्दै आफ्नै घर आँगनमा डाक्टर आई आफूलाई निःशुल्क औषधिसमेत दिएको भन्दै खुशी व्यक्त गर्नुभयो । 

सो शिविरमा उहाँ जस्तै एक हजार सात जनाले स्वास्थ्य सेवा लिएको स्त्रीरोग विशेषज्ञ डा पुष्पा डाँगीले जानकारी दिनुभयो । 

शिविरमा उपचार गराएकामध्ये धेरैमा पाठेघरमा समस्या भएका महिला रहेको पनि डा डाँगीले बताउनुभयो । 

त्यसैगरी सोही शिविरमा जेष्ठ नागरिकमा हातखुट्टा दुख्ने, दम खोकीलगायतका समस्या रहेको बताइएको छ । स्वास्थ शिविरको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले अबदेखि तुलसीपुर उपनगरवासीले औषधि उपचारको अभावमा ज्यान गुमाउन नपर्ने गरी आफूहरुले काम थालिसकेको बताउनुभयो । 

उहाँले तुलसीपुरका बासिन्दाको स्वास्थ्यको जिम्मेवारी स्थानीय सरकारले लिइसकेको भन्दै हरेक वडामा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउने काम अगाडि बढाइसकेको बताउनुभयो । 

शिविरमा राप्ती अञ्चल अस्पताल तुलसीपुरका डाक्टर पुष्पा डाँगी, डा गोकर्ण दाहालसहितको ४० जनाको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!