दाङका किसानलाई निशुल्क मोबाइल फोन वितरण

Posted on: 24 May, 2017

जेठ १०, दाङ | जिल्लाका किसानलाई जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मोबाइल फोन वितरण गरिएको छ । 

यहाँका ६६ जना अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितरण गरिएको हो । कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना व्यवस्थापन एकाइले मोबाइल फोन वितरण गरेको हो । 

कृषि व्यवस्थापन सूचना प्रणाली कार्यक्रमअन्तर्गत कृषि मौसम र जलवायुसम्बन्धी जानकारी सहजरुपमा पाउनका लागि सिमकार्डसहित मोबाइल फोन वितरण गरिएको हो । किसानलाई जानकारीमूलक उत्पादनका प्रचारप्रसार, उत्पादन वृद्धिका लागि कृषि जलवायु तथा प्रविधिजडित जानकारीमूलक कृषि एप्ससहितको मोबाइल फोनसँगै मोबाइल रेनगेज, तापक्रम नाप्ने थर्ममिटर वितरण गरिएको छ । 

जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दीपककुमार शर्माले कृषक परम्परागत प्रक्रिया मात्र नभई आधुनिक प्रविधिको प्रयोग गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । “अब कृषकले मोबाइलबाटै समस्याको समाधान गर्न सक्नेछन्,” उहाँले भन्नुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!