दाङमा रासायनिक मलको अभाव

Posted on: 08 Jul, 2017

असार २४, दाङ । जिल्लामा रासायनिक मलको अभाव भएको छ । 

धानखेती सुरु हुन लाग्दा जिल्लामा मलको अभाव देखिएको हो । जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«निङमा हाल एक बोरा समेत मल मौज्दात छैन । 

धानखेतीका लागि जिल्लामा तीन हजार टन डिएपी मल आवश्यक पर्छ । गोदाममा युरिया प्रशस्त भए पनि डिएपी मल मौज्दात नभएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले बताउनुभयो । 

उहाँका अनुुसार हाल कम्पनीमा पाँच सय टन युरिया मात्र रहेको छ । यस अघि एक हजार ६०० टन डिएपी मल बिक्री गरिसकेको र हाल किसानलाई रित्तो हात फर्र्काउनु परेको न्यौपानेले बताउनुभयो । 

‘दैनिक किसान डिएपी मलका लागि आउनुहुन्छ, हामीसँग एक बोरा पनि छैन,” उहाँले भन्नुभयो । जिल्लाका घोराही, लमही, तुलसीपुरका किसान अनुदानको मल नपाएर महँगो मूल्यमा निजी पसलबाट मल किन्न बाध्य भएका किसान यमकला वलीले बताउनुभयो । 

“भोलि रोपाइँ हो, डिएपी मल लिन आएकी थिए, कृषि सामग्री केन्द्रमा मल नपाँउँदा बजारबाट किने,” उहाँले भन्नुभयो । कृषि सामग्री कम्पनीले केही दिनभित्र मल आयात गरिने जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!