दाङमा कृषि भण्डार गृह निर्माण

Posted on: 07 Sep, 2017

भदौ २२, दाङ । यहाँको राप्ती गाउँपालिकाका किसानलाई अब खाद्यान्न बिक्री तथा मलखाद, कृषि औजार र बिउबिजन किन्नका लागि बजार बजार धाउन नपर्ने भएको छ । 

राप्ती गाउँपालिका–२ लालमटियामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनको आर्थिक सहयोग तथा इच्छुक स्मृति कृषि सहकारी संस्थाको पहलमा कृषि भण्डार गृहको निर्माण भएपछि किसानलाई खाद्यान्न बिक्री तथा बिउबिजन, कृषि औजार र मलखादका लागि बजार धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनको रु २६ लाख ४१ हजार र रु चार लाख ७८ हजार बराबरको जनश्रमदानबाट उक्त कृषि भण्डार गृह निर्माण भएको हो । 

नवनिर्मित कृषि भण्डार गृहबाट अब किसानको खाद्यान्न तथा बिउबिजन भण्डारण तथा बिक्री गर्ने, प्रजनन बिउ र मूल बिउ उपलब्ध गराउने, कृषि औजार सुपथ मूल्यमा उपलब्ध गराउने, मलखाद वितरण गर्ने र प्राविधिक सेवासमेत दिने सुपरजोन, लालमटियाका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिनुभयो । 

नवनिर्मित कृषि भण्डार गृहको उद्घाटन बुधबार गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!