तुलसीपुर विमानस्थलमा अब दैनिक हवाई सेवा सञ्चालन हुने

Posted on: 24 Dec, 2018

पुष ९, नारायणपुर (रासस) | सातामा तीन पटक विमान सेवा सञ्चालन हुँदै आएको तुलसीपुर विमानस्थलमा अब दैनिक हवाई सेवा सञ्चालन हुने भएको छ । 

नेपाल वायु सेवा निगमका प्रवक्ता विजय लामाका अनुसार यही पुस १२ गतेबाट लागू हुने गरी दैनिक विमान सेवा सञ्चालन हुने भएको हो । तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नेपाल वायुसेवा निगमको जहाजले विमान सेवा सञ्चालन गर्दै आएको थियो । 

दैनिक हवाई सेवा सञ्चालन हुँदा निकै उत्साहित बनाएको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावतले बताउनुभयो । उहाँले दैनिक विमान सेवा सञ्चालन गर्न सफल भएकामा उपमहानगरपालिकालाई धन्यवादसमेत दिनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले दैनिक विमान सेवा सञ्चालन हुनु सबैका लागि खुशीको कुरा भएको बताउनुभयो । 

नगरप्रमुख घनश्याम पाण्डेले जनताका माझमा गरेको वाचा पूरा भएको बताउनुभयो । उहाँले विमान सेवा दैनिक सञ्चालनका लागि अग्रसरता देखाउने नेपाल वायुसेवा निगमप्रति आभारसमेत व्यक्त गर्नुभयो । उहाँले इन्धन डिपो स्थापनाका लागि अन्तिम पहल भइरहेको भन्दै टर्मिनल भवन निर्माणका लागि टेण्डरसमेत भइसकेको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!