प्रअदेखि पियनसम्म महिलाः हेड सरभन्दा दङ्ग परेर हेर्दछन्

Posted on: 31 Jan, 2020

रीता लामा | माघ १७, दाङ | महिलाले मात्र विद्यालय सञ्चालन गर्दा समग्र शैक्षिक सुधार कति राम्रो हुँदो रहेछ भन्ने यहाँस्थित एक विद्यालयले पुष्टि गरेको छ । 

घोराही उपमहानगरपालिका–१० मा अवस्थित खैरा माध्यमिक विद्यालयले सो पुष्टि गरेको हो । बिहानको प्रार्थनाको लागि घण्टी बजाउने कार्यालय सहयोगीदेखि प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षिका, अन्य कर्मचारी महिला हुनुहुन्छ । 

प्रधानाध्यापक श्यामा रावत विगत तीन वर्षदेखि विद्यालयको प्रअको जिम्मेवारी सम्हालिरहनुभएको छ । विद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धि, व्यवस्थापन, छात्रछात्रा र अभिभावकसँगको घुलमिल सबैमा पछिल्लो समय विद्यालय नमूना बनेको छ । “शिक्षक मात्र हुँदा जिम्मेवारी धेरै नहुने कर्तव्य पूरा गरे पुग्थ्यो, भने प्रधानाध्यापक भएपछि कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व धेरै हुदोरहेछ ।” उहाँ भन्नुहुन्छ, “विद्यालयमा महिला प्रधानाध्यापक छ भन्ने थाहा नपाएका मानिस विद्यालयमा आए भने हेडसर खै ? बोलाइदिनुहोस् न भन्छन् । अनि मै हो हेड सरभन्दा दङ्ग परेर हेर्ने गर्छन् ।”

यस विद्यालयमा सबै प्रअदेखि पियनसम्म सबै कर्मचारी महिला आएपछि गत वर्षदेखि ९ र १० कक्षाको पढाइ थप भएको छ । नयाँ भौतिक संरचना बन्ने क्रममा छन् । “हाल विद्यालयमा प्रअसहित १६ शिक्षका, एक जना कर्मचारी, एक जना कार्यालय सहयोगी सबै महिला छौँ ।” उहाँले भन्नुभयो, “विद्यार्थी धेरै अनुशासित छन् । एक पटक सिकायो भने ध्यान दिएर सुन्छन्, नबुझेको सोधीखोजी गर्छन् ।”

महिला शिक्षिका र कर्मचारी आएपछि कक्षा कोठा सबै शैक्षिक सामग्रीले भरिएका छन्, बालबालिका स्वतन्त्ररुपमा अध्ययन गर्न पाएको छन् । कहिलेकाहीँ कारणवश विद्यालयमा शिक्षक नआएर पनि कक्षा खाली हुन पाउँदैन । अर्को शिक्षिकाले कक्षा हेर्नुहुन्छ वा विद्यार्थी बाहिर चौरभरि छरिनुको सट्टा कक्षाकोठामा पुस्तक पढेर बस्ने गरेका छन् । विद्यालयमा खानेपानी, शौचालय, छात्रालाई सेनेटरी प्याड र त्यसलाई विषर्जन गर्ने सुविधा छ ।

सहायक प्रधानाध्यापक विमला अधिकारी प्रअदेखि कर्मचारी, शिक्षक, कार्यालय सहयोगी सबै महिला भएकाले पछिल्लो समय शैक्षिक गुणस्तरमा सुधार आएको दावि गर्नुभयो । “सबै शिक्षकलाई कामको जिम्मेवारी छ । प्रार्थना, अतिरिक्त क्रियाकलाप, साहित्यजस्ता विविध क्रियाकलापको जिम्मेवारीअनुसार सबै शिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ । ” उहाँले भन्नुभयो ।

“हामीले एक पटक जिम्मेवारी बाँडेपछि कसैलाई काम अह्राउनु पर्दैन ।” सहायक प्रअ अधिकारीले भन्नुभयो, “एउटा खाका बनाएर अफिस कोठामा टाँस्छौं त्यसैका आधारमा काम गर्छौं ।” उहाँ अगाडि थप्नुहुन्छ, “म गणित र विज्ञान विषयको शिक्षक हो, पहिलेपहिले त मान्छेहरु महिलाले मात्र कसरी र कस्तो विद्यालय चलाउलान् भनेर कुरा गर्थे, आजकाल हाम्रो काम देखेर प्रशंसा गर्छन् खुशी लाग्छ ।” 

दाङको नमूना विद्यालय हो । महिलाले नेतृत्व पाएमा गर्न सक्छन् भन्ने कुराको उदाहरण आफूहरु बनेको त्यहाँ कार्यरत महिला शिक्षिका बताउँछन् । जिल्ला रहेका सामुदायिक विद्यालयभन्दा कम नभएको दाबी गर्छन् उनीहरु । शिक्षा विकास तथा समन्वय एकाइ दाङले दिएको जानकारीअनुसार दाङका अन्य विद्यालयमा महिला प्रधानाध्यापक पनि छन् तर सबै महिलामात्रै भएको विद्यालय अरु छैन । 

अहिले जिल्लाको मौरीघाट माविमा सीता रिजाल, सरस्वती मावि काठेकोलमा वसन्ता पौडेल, रक्षाचौर माविमा विष्णु केसीले महत्वपूर्ण जिम्मेवारी सम्हालेर काम गरिरहनुभएको छ । खैरा माविमा सबै महिला भएको कारणले विद्यालयको शैक्षिक र भौतिक गुणस्तरमा निकै राम्रो सुधार आएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख नारायण गौतम बताउनुहुन्छ । उहाँले विद्यालयको आर्थिक पारदर्शिता सिकाइ क्रियाकलाप पनि नमूनायोग्य भएको जाकारी दिनुभयो  । खैरा मावि बालमैत्री विद्यालयको रुपमा गत वर्ष नै घोषणा भएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!