दाङका एक व्यापारी बेपत्ता, खोजी गरिदिन सबैसँग आग्रह

Posted on: 04 May, 2017

बैशाख २१, दाङ । तुलसीपुर उपमहानगरपालिका–५ बस्ने करिब ४० वर्षीय रत्नबहादुर वली बेपत्ता हुनुभएको छ । 

मङ्गबार दिउँसो करिब ४ बजेदेखि बेपत्ता भएका वलीको हालसम्म कुनै पनि जानकारी नआएपछि उहाँका परिवार चिन्तित भएका छन् । 

परिवारले तुलसीपुर इलाका प्रहरी कार्यालयमा वली एकाएक बेपत्ता भएकाले खोजी गरिदिन माग गरेपछि प्रहरीले उनको खोजी तीव्र पारे पनि फेलापार्न नसकेको जनाएको छ । उहाँले प्रयोग गर्ने गरेको मोबाइल समेत बन्द रहेको र खोज तलासकै क्रममा उहाँले चलाउँदै आएको मोटरसाइकल भने घोराहीमा बेवारिसे अवस्थामा फेला पारेको इलाका प्रहरी प्रमुख लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । 

तुलसीपुरस्थित बसपार्कमा पेय पदार्थको व्यवसाय गर्दै आएका वली पछिल्लो समयमा जग्गा प्लटिङ, खरिद तथा बिक्री कार्यमा संलग्न हुनुहुन्थ्यो । यसैबीच राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रेशम विसीले एक विज्ञप्ति जारी गर्दै बेपत्ता भएका वलीको खोजी गरिदिन माग गर्नुभएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!