दाङबाट क-कसले दिए निर्वाचनमा उम्मेदवारी ?

Posted on: 02 Nov, 2017

कात्तिक १६, तुलसीपुर (रासस) | नेकपा(माओवादी केन्द्र)का नेता एवं पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महराले एमाले–माओवादी गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं २ मा उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ । 

उहाँले घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएपछि पत्रकारसँग कुरा गर्दै संविधान कार्यान्वयन र देशलाई आर्थिक समृद्धिमा लग्नका लागि मनोनयन गरिएको बताउनुभयो । यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले दाङ क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ । 

त्यसैगरी नेकपा (एमाले)का नेता शंकर पोखरेलले प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नं २ (क) मा उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ । त्यस्तै काँग्रेसका नेता तथा पूर्वश्रमराज्यमन्त्री डिल्ली चौधरीले प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नं ३ (क) मा उम्मेदवारी मनोनयन पत्र दर्ता गराउनुभएको छ । 

एमाले नेत्री कोमल वलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं ३ मा स्वतन्त्र रुपमा उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ । उहाँले एमालेले आफूलाई समानुपातिक उम्मेदवारको सूचीमा नराखेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको बताउनुभयो । 

दाङ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि काँग्रेसबाट सुशीला चौधरी, एमालेबाट मेटमणि चौधरी, संघीय समाजवादी फोरम नेपालबाट अशोककुमार यादव, नेपाली काँग्रेस(बिपी)बाट अशोक खड्का र राष्ट्रिय जनमोर्चा पार्टीबाट कपिलदेव खनालले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

त्यसैगरी नेकपा (माले)बाट रेखा केसी, नयाशक्ति पार्टीबाट होमप्रसाद शर्मा तथा स्वतन्त्रबाट गौरसिंह महर, पर्शुनारायण चौधरी र सुरेन्द्र चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १ (क) बाट ११ र खबाट आठ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!