राष्ट्रिय सभा निर्वाचन: प्रदेश ३, ४ र ५ मा सकियो मतदान

Posted on: 07 Feb, 2018

माघ २४, काठमाडौँ । राष्ट्रिय सभा सदस्यको लागि प्रदेश ३, ४ र ५ को मतदान सकिएको छ । 

प्रदेश ३ मा ३४८ मतदाता र १४ उम्मेदवार छन् । बिहान १० बजेदेखि ललितपुरको जाउलाखेलमा रहेको भलिबल मैदानमा १ बजे सकिएको छ।

प्रदेश ४ को मतदान समेत सकिएको छ । पोखरामा भएको प्रदेश ४ को निर्वाचनमा २३० मध्ये २२९ जनाले मतदान गरेका छन् । 


यो प्रदेशमा १० जना उम्मेदवार छन् । अदालतबाट पाँच वर्षको सजाय पाई फरार रहेका प्रदेश सभा सदस्य दीपक मनाङ्गे भने मतदान गर्न आएनन् ।

प्रदेश ५ मा ३०३ मत खसेको छ । ३०५ मत मध्ये प्रदेश सभाको १ र स्थानीय तहको १ गरी दुई मत नखसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश ५ मा प्रदेश सभातर्फ ८७ र स्थानीय तहमा २१८ मतदाता छन् ।

आयोगले सकेसम्म माघ २४ गते नै र नभए माघ २५ गतेसम्म सबै पदको मत परिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको छ । आयोगले सातवटै प्रदेशको अन्तिम परिणाम प्राप्त गरेपछि आवश्यक तयारी पूरा गरी राष्ट्रियसभा सदस्य चुनावको अन्तिम मत परिणाम यथाशीघ्र राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरेको छ ।


नेपालको संविधानको धारा ८६ मा प्रत्येक प्रदेशबाट आठ जनाका दरले कूल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । 

त्यस्तै, सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीन जनासमेत गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!