सल्यान-दाङका बालबालीकाले काफल बेचेर मनग्य आम्दानी गर्दै

Posted on: 13 May, 2017


बैशाख ३०, दाङ । सल्यान दाङका बालबालीकाले काफल बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । 

फुर्सद्को समयमा कपुरकोट बजार र तुलसीपुर सल्यान सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेका कपुरकोट गाउँपालिकाका उमेश पुनले बताउनुभयो । 

कक्षा ६ मा अध्ययन गर्ने पुन शनिबार तथा विद्यालय छुट्टी भएपछि काफल बिक्री गर्न गरेको बताउनुहुन्छ । “काफल बेचेर पढाइखर्च चलेको छ,” उहाँले भन्नुभयो । 

हाल स्थानीय तहको निवार्चनका कारण विद्यालय बन्द भएकाले यही मौका छोपेर काफल बिक्री गर्ने गरेको अर्का बालक खिमबहादुर वलीले बताउनुभयो । उहाँ जङ्गलमा गएर बिहान काफल टिप्ने र साँझ बिक्री गर्ने गर्नुहुन्छ । 

त्यस्तै धनवाङकी कमला पुन अरुसँग खरिद गरेर काफल बिक्री गर्नुहुन्छ । कक्षा– ७ मा पढ्दै गरेकी पुनले रु ७० मा एक मानो काफल किनेर रु एक सयमा बिक्री गर्नुहुन्छ । “दैनिक रु तीन सयदेखि रु पाँच सयसम्म फाइदा हुन्छ,” उहाँले भन्नुभयो । 

काफल बिक्री गरी दैनिक रु चार सय भन्दाबढी आम्दानी गर्ने यमुना घर्तीले सो रकमले कापी, कलम किन्ने गरेको बताउनुभयो । उहाँ जस्तै अन्य बालबालिकाले काफल बेचेर मनग्य आम्दानी गदैआएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!