दाङमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

Posted on: 16 Sep, 2017

भदौ ३१, दाङ । मोटरसाइकलको ठक्करबाट तुलसीपुरका एक व्यक्तिको मृत्यु भएको छ । 

रा२प ४३९३ नंको मोटरसाइकलको ठक्करबाट तुलसीपुर–७ मोतीपुरका ६४ वर्षीय गोरे गिरीको मृत्यु भएको हो । घाइते गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

तुलसीपुर–६ हात्तीखौवामा शुक्रबार दुर्घटनामा परी घाइते भएका गिरीको राप्ती अञ्चल अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएकामा उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ । 

मोटरसाइकल चालक तुलसीपुर–१९ का वसन्त थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि सवारी तथा यातायात व्यवस्था २०४९ अनुसार अनुसन्धान भइरहेको छ । 

ब्राउन सुगरसहित पक्राउ 

दाङ प्रहरीले तीन ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित एक जनालाई शुक्रबार पक्राउ गरेको छ । 

जिप्रका दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहका अनुसार गढवा–४ निवासी अनिल पछाईलाई पक्राउ गरिएको हो । अवैध लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा पछाईलाई उनले प्रयोग गरेको रा३प ८२७९ नंको मोटरसाइकलसहित पक्राउ गरी लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । 

श्रमिक बालबालिकाको उद्धार 

यहाँको उपमहानगरले १५ श्रमिक बालबालिकालाई उद्धार गरेको छ । उनीहरुलाई प्रतिपरिवार रु १६ हजार ५०० दिइएको छ । पहिलो चरणमा पुनःस्थापना गरिने बालबालिकामा नौदेखि १५ वर्षसम्मका होटेल, ग्यारेज, ग्रिल उद्योग, इँटाभट्टा र यातायातका क्षेत्रमा श्रममा संलग्न भएकाहरु भएको उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले जानकारी दिनुभयो । 

कानूनतः १४ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउनेलाई कारबाहीको व्यवस्था भए पनि शुरुआतीमा कारबाही प्रक्रियामा नगएको तर पटक पटक अटेर गरे कानूनी प्रक्रियामा पनि उपमहानगर अगाडि बढ्ने बालसंरक्षण समितिका संयोजक नवराज लामिछानेले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!