दाङका मुक्त कमलरी बालिकालाई परिचयपत्र दिईने

Posted on: 01 Nov, 2017

कात्तिक १५, दाङ । मुक्त कमलरी परिचयपत्र वितरण जिल्ला समितिको घोराहीमा मंगलबार बसेको बैठकले मन्त्रालयबाट प्राप्त ८२ जना मुक्त कमलरी बालिकाको नामलाई अनुमोदन गरेको छ । 

जिल्ला भूमिसुधार कार्यालयका निमित्त प्रमुख मानबहादुर कँुवरको अध्यक्षतामा बसेको बैठकले दोस्रो चरणमा विभिन्न गाउँपालिकाका ८२ जना मुक्त कमलरी बालिकालाई परिचयपत्र दिने निर्णय गरेको हो । 

यसअघि स्थानीय तहहरुबाट भूमिसुधार कार्यालयमार्फत मन्त्रालयमा पठाइएका नामलाई अनुमोदनका लागि फेरि जिल्लामा पठाएपछि बैठकले प्रमाणीकरण गरेको हो । भूमिसुधार कार्यालयले केही दिनमा ती मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्ने लेखा अधिकृत नारायणप्रसाद पोख्रेलले जानकारी दिनुभयो । 

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सरकारले मुक्त कमलरीलाई परिचयपत्र दिएर न्याय गरेको बताउनुभयो । वास्तविक मुक्त कमलरीले परिचयपत्र पाउनुपर्ने भन्दै उहाँले परिचयपत्र प्राप्त गर्नका लागि आवश्यक सिफारिसमा निःशुल्क सेवा प्रदान गरिएको जानकारीसमेत दिनुभयो । 

यसअघि दाङमा १० जना मुक्त कमलरीले परिचयपत्र पाएका छन् । भूमिसुधार मन्त्रालयमा दाङका दुई हजार ९४५ जना मुक्त कमलरीको नामावली रहेको छ भने मुक्त कमलरी विकास मञ्चको तथ्यांकमा चार हजार ६७७ जनाको नाम रहेको र छुटेकाको छिट्टै पठाइने पूर्व कमलरी उर्मिला चौधरीले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!