दाङका शिक्षाविद् डा. डाँगीको निधनमा विद्यालय बन्द

Posted on: 02 Nov, 2017

कात्तिक १६, दाङ । शिक्षाविद् डा घनश्याम डाँगीको निधनको शोकमा आज दाङका निजी विद्यालय बन्दको आह्वान गरिएको छ । 

प्याब्सन र एनप्याब्सनले एक दिनका लागि शोकमा संस्थागत विद्यालय बन्द गरिएको हो । पहिलो पटक निजी क्षेत्रबाट बोर्डिङ स्कुल सञ्चालन गरेका शिक्षाविद् डा घनश्याम डाँगीको ६७ वर्षको उमेरमा बुधबार निधन भएको थियो । 

उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा डाँगीको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । २०३७ सालमा निजी लगानीमा दाङको तुलसीपुर क्षेत्रमा पहिलो पटक राप्ती विद्यालय मन्दिरको स्थापना गरी शिक्षामा लगानी लगाउनुभएका डाँगी प्याब्सन दाङको २०४७ सालमा संस्थापक अध्यक्षका रुपमा काम गर्नुभएको थियो । 


नेपाल संस्कृत विश्वविद्यालयबाट वादी समुदायको सामाजिक सांस्कृतिक अवस्था विषयमा पिएचडी गर्नु भएका डाँगी विभिन्न संघ, संस्था र शिक्षा क्षेत्रमा संलग्न रहँदै आउनुभएको थियो । 

डाँगीले नेपाल नेत्रज्योति संघमा २०४१ सालमा सचिव र २०५० सालदेखि २०७२ सालसम्म निरन्तर सभापतिको रुपमा काम गरी राप्ती आँखा अस्पतालको विकास र विस्तारमा योगदान पु¥याउनुभएको थियो । 

यसैबीच, शिक्षाविद् तथा समाजसेवी डाँगीको निधनप्रति विभिन्न संघ संस्था, शिक्षण संस्था र अधिकारकर्मीले दुःख व्यक्त गरेका छन् । स्व डाँगीको निधनले यस क्षेत्रको शिक्षा क्षेत्रमा अतुलनीय क्षति पुगेको ठहर गरिएको छ । 

यसैगरी, नेपाल नेत्रज्योति संघ, दाङले पनि संघमा लामो समय अस्पतालको विकासका लागि योगदान पु¥याउनु भएका डाँगीको निधन प्रति दुःख व्यक्त गरेको छ । संघका सभापति कृष्णकुमार गिरीले शोक विज्ञप्ति प्रकाशित गरी डाँगीको निधनले संघलाई ठूलो क्षति पुगेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!