दाङ जाँदै गरेको बसमा अज्ञात समुहद्वारा पेट्रोल बम प्रहार, १२ घाइते

Posted on: 20 Feb, 2018

आभास पौडेल | फागुन ८, कपिलवस्तु | काठमाण्डौबाट दाङ जाँदै गरेको बसमाथी कपिलवस्तुमा पेट्रोल बम प्रहार भएको छ । अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट बसमा सवारी १२ जना यात्रु घाइते भएका छन ।

काठमाण्डौबाट दाङका लागि छुटेको ना ५ ख ७९१० नम्बरको बसमा कपिवलस्तुको शिवराज नगरपालिका वडा नं. ३ को सुपादेउराली चोकमा बसमा अज्ञात समूहद्धारा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा प्राथमिक उपचार पछि बुटवल रिफर गरिएको चन्द्रौटा वडा प्रहरी कार्यालय प्रमुख झविन्द्र भट्टराईले जानकारी दिनुभयो । प्रहरीका अनुसार तीन जना यात्रुलाई थप उपचारका लागि बुटबल रिफर गरिएको छ ।

बसमा सामान्य क्षति पुगेको बताइएको छ । बसका केही सिसाहरु फुटेका छन । घटना कस्ले किन घटायो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

नेकपाले गरेको नेपाल बन्दको प्रभाव यहाँ विहानै देखि परेको थियो । बन्दकर्ताहरु सडकमा नदेखिए पनि जिल्लाका बजार पसल, शिक्षण संस्था, उद्योगधन्दा, कलकारखाना सबै ठप्प छन । छिटफुट रुपमा सवारी साधन चलेपनि यातायातका साधन पूर्ण रुपमा ठप थिए  । दिउँसो पख प्रहरीले पूर्वपश्चिम राजमार्गमा कडा सुरक्षा दिएको बताए पछि केही सवारीसाधन राजमार्गमा सञ्चालनमा आएका थिए । तर गुडिरहेको बस माथि एक्कासी बम प्रहार भएपनि यातायात धनी त्रसित भएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!