दाङमा एउटै बाख्राले पायो ६ वटा पाठापाठी

Posted on: 07 Dec, 2018

मङ्सिर २१, लमही | दाङमा एउटा बाख्राले ६ वटा पाठापाठी पाएको छ । तुलसीपुर उपमहानरपालिका–९ बेलुवाका लालबहादुर खड्काले पालेको बाख्राले ६ वटा पाठापाठी पाएको हो । 

तीमध्ये एउटा पाठो जन्मिने वित्तिकै मरिसकेको छ भने चारवटा पाठी र एउटा पाठा गरी पाँचवटा जीवित रहेको स्थानीयबासी गिरीराज न्यौपानले बताउनुभयो । 

बाख्रा स्थानीय ‘काठे’ जातको भए पनि ‘वनशङ्कर’ जातको बोकासङ्ग क्रस गराएपछि ६ वटा पाठापाठी पाएको किसान लालबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार यसअघि बाख्राले दुई वटा पाठा पाएको थियो । एउटा बाख्राले ६ वटा पाठापाठी पाएको घटना दाङमा नयाँ भएको पशुसेवा कार्यालय तुलसीपुरका पशु विकास अधिकृत सुदाम भट्टले जानकारी दिनुभयो । 

यसअघि दाङमा तीनवटासम्म पाठापाठी पाउने गरेको भए पनि ६ वटा पाउनु नौलो घटना भएको उहाँले बताउनुभयो । एउटा बाख्राले बढीमा तीनवटासम्म हुर्काउनसक्ने भन्दै जीवित रहेका पाँचवटा पाठापाठीलाई हुर्काउन बाहिरी आहारामा ध्यान दिनुपर्ने पशु विकास अधिकृत भट्टको भनाइ छ । 

बाख्राको एउटा बच्चालाई आफ्नो शरीरको तौलको १० भागमध्ये एकभाग दूध चाहिने उहाँले बताउनुभयो । तर त्यति दूध एउटै बाख्राले उत्पादन गर्न नसक्ने पशु विकास अधिकृत भट्टको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!