अब बजारमा ठेला गुडाउँदै हिड्न नपाइने, गुडाए १० हजार जरिवाना !

Posted on: 12 Mar, 2019

फागुन २८, घोराही । दाङको सदरमुकाम घोराही बजारमा अब ठेला गुडाउन नपाइने भएको छ । साथै एक व्यक्तिले एउटामात्रै ठेलामा व्यवसाय गर्न पाउने नियम बनाइएको छ ।

घोराही उपमहानगरपालिकाको बजार व्यवस्थापन उपसमितिले ठेला व्यवसाय गर्नका लागि निश्चित ठाउँहरु तोक्दै बजारमा ठेला राख्न निषेध गरिएको हो ।

ठेला व्यवसाय सञ्चालनका लागि घोराहीको ट्राफिक चोक, बालमन्दिर र पुरानो बसपार्कस्थित सभागृह निर्माणस्थल बाहिर ठाउँ तोकिएको छ ।

घोराही बजार क्षेत्रमा करिब १ सय ठेला व्यवसायी रहेको अनुमान छ । कसैले अटेर गरी बजार क्षेत्रको सडकमा ठेला गुडाएको पाइएमा ५ सयदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ ।

नगर प्रमुखको संयोजकत्वमा रहेको बजार व्यवस्थापन समितिले प्रभावकारी कार्य सञ्चालन गर्न वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा उपसमिति गठन गरेर बजार व्यवस्थापनको काम थालेको छ ।

उपसमितिले सोमबार घोराही बजारका ठेला व्यवसायीहरुलाई भेला गराई व्यवसाय सञ्चालन गर्न निश्चित ठाउँहरु तोकिएको विषयमा जानकारी गराएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!