बबई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Posted on: 19 May, 2019

जेठ ५, दाङ | आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले सातै प्रदेशमा सञ्चालन गरेको नागरिक आरोग्य कार्यक्रमअन्तर्गत शनिबार बबई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  गाउँमै विशेषज्ञ सेवाका साथै औषधिसमेत निःशुल्क पाउने भएपछि स्थानीयवासीको निकै बाक्लो उपस्थिति थियो ।

आयुर्वेद चिकित्सा महाशाखा प्रमुख डा मनकर्ण थापाले शिविरमा ३००  बढी बिरामीको जाँच र औषधि वितरण गरिएको जानकारी दिनुभयो । शिविरमा धेरैजसो पायल्स, ग्यास्टिक,  स्त्री रोग, श्वासप्रश्वास र पत्थरीका बिरामी आएका थिए । आयुर्वेदिक जीवन पद्धतिबाट स्वस्थ नागरिक निर्माण गर्ने उद्देश्यका साथ शिविर आयोजना गरिएको व्यवस्थापक खीमराज रिजालले बताउनुभयो ।

पछिल्लो समय एलोपेथिक उपचार पद्धतिका कारण मानिसलाई औषधिको विभिन्न असर (साइडइफेक्ट)देखिने गरेकाले आयुर्वेदिक जीवन पद्धतिका लागि यस्तो कार्यक्रम आयोजना गरिएको  डा थापाको भनाइ छ । गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीले निकै खुशी व्यक्त गरेका छन् । शिविरमा डा थापा, डा विजय भुर्तेल, डा नदन कँडेल, डा शारदा खनाल, डा आश्मा केसी र डा गोकर्ण दाहाललगायतले स्वास्थ्य जाँच गर्नुभएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!