सिकलसेल बिरामीको निःशुल्क उपचार गर्दै उपमहानगर

Posted on: 18 Jun, 2019

असार ३, घोराही । घोराही उपमहानगरपालिकाले सिकलसेल एनिमिया रोगको प्रारम्भिक जाँच गर्ने भएको छ । यही असार ११, १५ र १६ गते घोराहीका तीन स्थानमा सो रोगको प्रारम्भिक जाँच गर्ने उपमहानगरको स्वास्थ्य शाखाले जानकारी दिएको हो ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा समेत उक्त रोगका बिरामीलाई निःशुल्क उपचार गर्ने कार्यक्रम ल्याएकामा सोहीअनुरुप आफ्नो क्षेत्रभित्र सिकलसेलका बिरामीको तथ्याङ्क सङ्कलनका लागि  निःशुल्क शिविर आयोजना गरिएको उपमहानरले जनाएको छ । 

स्वास्थ्य शाखाले रामपुर, नारायणपुर र सौडियारमा एक÷एक दिन शिबिरमार्फत स्वास्थ्य जाँच गर्ने योजना बनाएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो । प्रायः थारू समुदायका व्यक्तिमा उक्त रोग देखिएकाले सोही समूदायलाई नै प्राथमिकतामा राखेर जाँच गरिने उहाँको भनाइ थियो ।तीन दिनमा करीब एक हजार व्यक्तिको प्रारम्भिक जाँच गर्ने र आवश्यक परामर्श तथा उपचार गर्नुपर्ने भए सम्बन्धित अस्पतालमा पठाइने गरी तयारी भएको उपमहानगरपालिकाका डा प्रभात रिजालले जानकारी दिनुभयो । नेपालमा थारू समुदायमा देखिने उक्त रोग वंशाणुगत कारणले हुने गरेको डा रिजालले बताउनुभयो । उहाँका अनुसार अहिले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिकलसेल बिरामीको निःशुल्क उपचारको व्यवस्था भए पनि नियमित नभएको बिरामीले गुनासो गरेपछि उपमहानगरले सिकलसेल बिरामीको जिम्मेवारी लिएको हो । 

नगरप्रमुख नरुलाल चौधरीले सो रोगका विषयमा सचेतना र उपचारमा सरकार प्रतिबद्ध रहेको हुँदा आफूहरुले सिकलसेलका बिरामीको उपचारलाई प्राथमिकतामा राखेकोे जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!