मोटरसाइकल दुर्घटनाका मृतकको सनाखत: मृतक दुवै जना दाङको भएको पुष्टि

Posted on: 23 Jun, 2019

असार ८, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित कलोनीमा गएराति दुर्घटनामा जलेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृतक दुवै जना दाङ जिल्ला लही नगरपालिका–३ का २६ वर्षीय मानबहादुर चौधरी र २७ वर्षीय काशीराम चौधरी भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रवीनराज मैनालीले पुष्टि गर्नुभयो । 

मृतकका आफन्त बुटवलमा रहेको र घटना थाहा पाएर प्रहरीको सम्पर्कमा आएपछि उनीहरुको सनाखत भएकोसमेत उहाँले बताउनुभयो । दाङ लमहीका मजदूर बुटवलमा काम सकेर राति घरतर्फ जान लागेका बेलामा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना७ख ५९४८ नं को बसले गएराति करीब १२ बजेको समयमा बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु८प ८४७५ नंको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको ट्याङ्की विष्फोट भएर आगलागी हुँदा दुवै जनाको जलेर मृत्यु भएको थियो । मृतकको शरीर जलेर क्षत्विक्षत अवस्थामा नचिन्ने अवस्थामा रहेकाले आफन्त सम्पर्कमा आएपछि मात्र सनाखत हुन सकेको हो । 

गढवा गाउँपालिका दुई वडाको कार्यालय भवन निर्माण

दाङको गढवा गाउँपालिका–३ र ७ को वडा कार्यालय भवन निर्माण सम्पन्न  भएका छन् ।

गाउँपालिकाका  प्रशासकीय  अधिकृत नोखरी राम वलीले दिनुभएको जानकारीअनुसार वडा नं –३ को कार्यालय  गोबडिया र वडा नं– ७ को कार्यालय भवन मानपुरमा सम्पन्न भएका हुन् । 

चालू आर्थिक वर्षमा नै शुरु गरिएका  दुबै कार्यामध्ये वडा– नं ३ रु ४३ लाख ७८ हजार र  वडा नं– ७  भने रु ४५ लाख ३३ हजारको लागतमा निर्माण गरिएको पनि प्रशासकीय अधिकृत वलीले जानकारी दिनुभयो । 

वडा नं ३ निर्माणको जिम्मा भीमादेवी निर्माण सेवा गढवा र ७ नं कार्यालयको भवन निर्माणको जिम्मेवारी शर्मा  निर्माण सेवा दाङले पाएको थियो । वडा कार्यालयको आफनै भवन निर्माण भएपछि नागरिकलाई अव सेवा प्रवाहमा सहजता हुनेछ । यसअघि दुबै कार्यालय भाडाको घरमा  बसेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!