दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु

Posted on: 25 Jun, 2019

असार १०, लमही । दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । आज साँझ करीब साढे ६ः०० बजेतिर परेको चट्याङले राप्ति गाउँपालिका–३ मौरीघाट निवासी ११ वर्षीय रमीत चौधरी, ११ वर्षकै विनास चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार  राप्ति–४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङले तीनै जना बालकको घटनास्थलमै मृत्यु भएको हो । साथै सोही रुखमा चढेका विनासका भाई आठ वर्षीय अविनास चौाधरी भने गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

न्यायिक समितिमा उजुरीको चाप

तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा १०४ वटा मुद्दा दर्ता भएका छन् । 

चालू आर्थिक वर्षको हालसम्म उजुरी परेका १०४ मुद्दामध्ये २१ वटाको फछ्र्याैट भइसकेको न्यायिक समितिका संयोजक माया आचार्यले जानकारी दिनुभयो । साउनमा नौ, भदौमा तीन, असोजमा ६, कात्तिकमा चार, मङ्सिरमा नौ, पुसमा १०, माघमा पाँच, फागुनमा १२, चैतमा १४, वैशाखमा १३, जेठमा १५ र असारको पहिलो सातासम्म तीन वटा मुद्दा दर्ता भएको समितिले जनाएको छ । 

विशेषगरी घरेलु हिंसा, जग्गा रोक्का, माना–चामल, आमा–बाबु अलग भएर छोराछोरीहरु विचल्लीमा परेका जस्ता मुद्दाहरु समितिमा बढी आउने गरेको उहाँको भनाइ छ । त्यसैगरी लेनदेन, झै–झगडा, ज्येष्ठ नागरिकलाई खान–लाउन नदिएको कुटपिटलगायतका मुद्दा पनि बढी आउने गरेको संयोजक आचार्यले जानकारी दिनुभयो । 

उजुरी परे पनि दक्ष कर्मचारीको अभावमा न्याय सम्पादनमा समस्या हुने गरेको समेत उहाँको भनाइ छ । “न्यायिक समितिमा थुप्रै उजुरीहरु आउने गरेका छन्”, उहाँले भन्नुभयो, “तर दक्ष कर्मचारी नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेको छ ।” 

संयोजक आचार्यले हाल उपमहानगरका प्रत्येक वडामा मेलमिलापकर्ता सूचीकृत गरेकाले वडामा मिलाउन नसकेका मुद्दाहरु छानेर उपमहानगरपालिकामा पठाउने गरेको बताउनुभयो । यसरी मुद्दाको प्रकृतिलाई हेरेर न्यायिक समितिले पक्ष र विपक्षका सदस्य राखेर मेलमिलाप गराउँदै आएको समेत उहाँले बताउनुभयो । हाल न्यायिक समितिमा उजुरी प्रशासनमा एक, हेल्पडेक्समा एक, सचिवालयमा एक र कार्यालय सहयोगी एक गरी चार कर्मचारी कार्यरत रहेको समितिले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!