झाडीमा मृत फेला परेका आमाछोरीको सनाखत हुन सकेन

Posted on: 19 Aug, 2019

भदौ २, दाङ | दाङको तुलसीपुरमा तीन दिनअघि झाडीमा मृत फेला परेका आमाछोरीको सनाखत हुन सकेको छैन। तीन दिनसम्म पनि मृतकको सनाखत हुन नसकेपछि सोमबार उनीहरूको अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरले पोष्टमार्टम भइसकेपछि तुलसीपुर उपमहानगरपालिकालाई जिम्मा लगाइएको जानकारी दिएको छ। ‘सडे गलेको अवस्थामा फेला परेको शव थप राख्न सक्ने अवस्था नभएको हुँदा पोष्टमार्टमपछि हामीले नगरपालिकालाई दिइसकेका छौं। सायद आजै शवको अन्त्येष्टि नगरले गर्छ होला,’ प्रहरी सहायक निरीक्षक सुनिलजंग शाहले भने।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वारास्थित रात पहरको डाँडामा वनमाराको झाडीमा शव फेला परेको थियो। उक्त जग्गा १९ नं. बाहिनीको हो। जसको नजिकै घना जंगल छ। घटनास्थल गहतेखोलादेखि झन्डै तीन सय मिटर पश्चिम र तुलसीपुर बजारदेखि साढे ३ किलोमिटरको दूरीमा पर्छ।

गत शनिबार दिउँसो साढे ३ बजेतिर गाईवस्तु चराउन गएका ग्वालाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। नवजात शिशुसहित मृत अवस्थामा फेला परेकी महिलाको हत्या भएको आशंका प्रहरीको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!